विदेशबाट दैनिक ५ सय जनाको मात्रै उद्धार गर्ने सरकारी नीतिले थप समस्या, उद्धार कार्यमा ढिलाई नगर्न माग

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले सरकारले दैनिक रुपमा अधिकतम् ५ सय जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णयप्रति आपत्ति जनाएको छ । एनआरएनएले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाई हुने भन्दै सरकारको गम्भिर ध्यानर्कषण गराएको हो ।

संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा.बद्री केसीले मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरुलाई यो निर्णयले थप निराश बनाएको बताउनुभयो । विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाई छ ।

उहाँले सरकारले यस विषयमा पुर्नविचार गर्नुपर्ने पनि सुझाउनुभयो । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।

यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरि २ सय जना गरेर जम्मा ५ सय जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो ।

५१ हजार ४ सय ४१ जनाको उद्धार

विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । गैर आवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।

२४६ जनाको शव नेपाल ल्याइयो

विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।


प्रकाशित | ३२ श्रावण २०७७, आईतवार १३:४१