एसिसी प्रिमियर कप हुने भएसंगै मुलपानी क्रिकेट रंगशालाको निर्माण कार्यले पायो तिब्रता

काठमाडौँ  :  राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मुलपानी क्रिकेट रंगशालामा एसिसी प्रिमियर कपको एक खेल हुने भएसंगै यसको निर्माण कार्यले पनि तीव्रता पाउँदै गएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा रहेको सो रंगशालाको निर्माण कार्य २० वर्ष अघि सुरु गरिएको थियो । विभिन्न नेतृत्वहरु परिवर्तन भएपनि निर्माण कार्यले खासै सार्थकता नपाएको अवस्थामा पछिल्लो समय भने नगरपालिकाका मेयर उपेन्द्र कार्कीको सक्रियतामा निर्माण कार्यले पनि तीब्रता पाउँदै गएको हो ।

निर्माण कार्यलाई तीब्रता दिन र मैदानको लागि पूर्व तयारीका लागि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख  कार्की र नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले शुक्रबार मुलपानी क्रिकेट मैदानको अवलोकन गर्नु भएको छ ।

This image has an empty alt attribute; its file name is 1-4.jpg

अवलोकन पश्चात भएको  छलफललाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले प्रिमियर कपको एउटा प्रतियोगिता हुने भएपछि अन्तराष्ट्रिय स्तरमा रंगशाला चिनीने विश्वास व्यक्त गर्नु भयो । करिब २० वर्ष अघि निर्माण शुरु भएपनि पूर्णता नपाएको रंगशालालाई सरोकारवालाहरुबिच वृहत छलफल गर्दै निर्माण कार्यमा अझै तदारुकता देखाउने प्रतिबद्धता जनाउनु भयो ।

कागेश्वरीलाई खेल नगरीको रुपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै मेयर कार्कीले सोही अनुरुप सो रंगशालाको निर्माण कार्य प्राथमिकतामा रहेको स्पष्ट पार्नु भयो ।

This image has an empty alt attribute; its file name is mulpani-cirket--1024x595.jpg

प्रतियोगिता राष्ट्रिय गौरवको बिषय भएको र मूलपानी क्रिकेट मैदानलाई सबैले आशाको केन्द्रका रुपमा रहेकाले एसिसी प्रिमियर कप सफल रुपमा सम्पन्न गर्न नगरपालिका नेपाल क्रिकेट संघसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

छलफलमा नगरप्रमुख कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाल, वडा नम्बर ७ का अध्यक्ष भीमसेन थापा, वडा नम्बर ८ का अध्यक्ष हरिभक्त पुडासैनी, संघका तर्फबाट संघका सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोसनकुमार सिंह, महाप्रबन्धक वृतान्त खनाल, टुर्नामेन्ट डाइरेक्टर बिनोद दासलगायत सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

This image has an empty alt attribute; its file name is p-1024x687.jpg

मुलपानीमा करिब ३ सय रोपनी क्षेत्रफलमा अत्याधुनिक क्रिकेट रंगशाला बनाउने कार्य जारी छ । रंगशाला परिसरमै खेलकुदको प्रशासनिक कार्यालय, इन्डोर हल, होस्टेल, स्वीमिङ पुल, जिम हल लगायतका विभिन्न भौतिक संचरना निर्माण हुनेछ ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा १० देश प्रतिस्पर्धा गर्नेछन् । नेपालले मुलपानीमा क्रिकेट रंगशालामा साउदी अरेवियासँग वैशाख ११ खेल्नेछ भने बाँकी तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्नु पर्नेछ ।


प्रकाशित | १० चैत्र २०७९, शुक्रबार २१:५१