प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले टेलिफोन गरी भारतीय समकक्षी मोदीलाई भारतीय स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली र मोदीबीच शनिबार टेलिफोनमा कुराकानी भएको हो । करिब १० मिनेट कुराकानी भएको र भेटवार्तामा भएका कुराबारे परराष्ट्र मन्त्रालयले जानकारी दिने जनाइएको छ ।

नेपालले लिम्पियाधुरासहितका नक्सा जारी र निशान छापमा समेत राखेपछि ओली–मोदीबीच कुराकानी हुन सकेको थिएन ।

त्यस्तै, यसअघि सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री ओलीले नेपाल र नेपालीका तर्फबाट शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले लेख्नुभएको थियो, “प्रधानमन्त्री नरेन्द्र मोदी जी र भारतीय जनतालाई ७४ औँ स्वतन्त्रताको दिवसका अवसरमा बधाई तथा शुभकामना छ ।”

साथै स्वतन्त्रता दिवसको अवसरमा भारत र भारतीय जनताको थप प्रगति र उन्नतिको कामना पनि गर्नुभएको थियो ।


प्रकाशित | ३१ श्रावण २०७७, शनिबार १४:४३