नब्बे वर्षीया वृद्धाले दश दिनमै जित्नुभयो कोरोना

विराटनगर – कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट ९० वर्षीया वृद्धाले दश दिनमै कोरोना सङ्क्रमण परास्त गरेर घर फर्कनुभएको छ । विराटनगर–६ निवासी मधु भट्टराई अस्पताल भर्ना भएको दशदिनकै दिन डिस्चार्ज भएर घर फर्कनुभएको हो ।

एउटै घरबाट चारजना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका परिवारका सासु र बुहारीले बुधबार कोरोना सङ्क्रमण परास्त गर्नुभएको हो । छोरा र नातिभन्दा अघि नै ९० वर्षीया ज्येष्ठ नागरिकले कोरोना परास्त गर्नुभएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेले उहाँलाई अस्पताल पुगेर सम्मानसहित बिदाइ गर्नुभयो ।

साउन १९ गते अस्पताल भर्ना हुनुभएकी भट्टराईमा कोरोना लक्षण देखिएको थिएन । मधुमेह, उच्च रक्तचापसहित समस्या भएपनि भट्टराईमा लक्षण नदेखिएको र स्वास्थ्य अवस्था स्थिर रहेपछि १० दिनको दिन स्वाब सङ्कलन गरिएको थियो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासका अनुसार ३१ जनाको स्वाब मङ्गलबार सङ्कलन गरिएको थियो । बुधबार आएको रिपोर्टमा २१ जनाको नेगेटिभ देखिएको हो । जसमा ९० वर्षीया भट्टराईको समेत नेगेटिभ देख्दा हाम्रो खुशीको सीमा नै रहेन, मेसु दासले भन्नुभयो, ‘उहाँको स्वास्थ्यको चिरस्थायित्वकाे कामना गर्दछौँ ।’

उपचारमा संलग्न चिकित्सकले लक्षण पनि नदेखिएको र स्वास्थ्य अवस्था समेत सामान्य र स्थिर देखिएका कारण १० दिनमै स्वाब सङ्कलनका लागि सल्लाह दिएका हुन् । उहाँलाई अस्पतालबाट बिदाइ गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना सङ्क्रमणको जोखिम नयाँ चरणमा प्रवेश गरेपनि यसविरुद्ध लड्न नयाँ योजना तयार पारिरहेको बताउनुभयो । उहाँले जोखिमयुक्त पेसा अङ्गाल्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा देखिएको सङ्क्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्नका लागि योजना बनाइरहेको जानकारी दिनुभयो । 

उहाँले चाँडै नै प्रदेश १ मा तह–१ र तह–३ क्षमतामा अस्पतालहरूकाे विस्तार गर्ने बताउनुभयो । सरकारले बीपी प्रतिष्ठान धरानलाई तह–३ को, कोशी कोभिड–१९ उपचार केन्द्रलाई तह–२ को र गोठगाउँस्थित पीयू आइसोलेसन अस्पताललाई तह–१ को अस्पतालको रुपमा विस्तार गर्ने भएको छ । कोशी कोभिड–१९ लाई ५० शय्याबाट २५० शय्या क्षमतामा, धरानस्थित बीपी कोभिड–१९ उपचार केन्द्रलाई १०० सयबाट २०० शय्यामा, मेचीलाई १५० शय्यामा र मेचीनगरमा ५०, उदयपुरमा ५० शय्याका अस्पतालहरू विस्तार गर्ने भएको छ ।

यसैगरी दैनिक एकहजार ५०० स्वाब परीक्षण क्षमताको लागि ल्याबहरू विस्तार गरिएको मन्त्री घिमिरेले जानाकारी दिनुभयो । स्वीस सरकारले सहयोगस्वरुप प्रदान गरेका दुई पीसीआर मेसिनलाई प्रदेश प्रयोगशाला विराटनगर र मेची अस्पताल प्रयोगशाला भद्रपुरमा स्थापना गरि परीक्षण बुधबारदेखि नै सुरु गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।

कोशीको कोभिड–१९ उपचार केन्द्रबाट बुधबार मोरङका ११, इलामका ६, झापा, तेह्रथुम, सुनसरी र उदयपुरका एक–एक जना डिस्चार्ज हुनुभएको छ ।अस्पताल स्थापनादेखि हालसम्म भर्ना भएका २४७ जनामध्ये २०३ जना डिस्चार्ज भइसकेका छन् । अस्पतालमा बुधबारसम्म ४३ सक्रिय सङ्क्रमित रहेका छन् ।

बुधबार नै पूर्वाञ्चल विश्वविद्यालय कोभिड-१९ आइसोलेसन अस्पतालबाट ३६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ८८७ पुगेको छ । सङ्क्रमितको सङ्ख्या एक हजार १८९ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनीकमा छ ।


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार ०८:०७