लकडाउनका विषयमा विज्ञ तथा विपक्षी दलका नेतासँग प्रधानमन्त्री ओलीको परामर्श

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड- १९ बारे सम्बन्धित क्षेत्रको विज्ञ तथा विपक्षी दलका नेताहरूसँग बालुवाटारमा छलफल गर्नुभएको छ ।

छलफलमा नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि उपस्थित रहनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पछिल्लो समय राजधानीलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढ्दैगएको तथा मृत्यु हुने र लक्षण देखिने दर बढेको सन्दर्भमा प्रधानमन्त्रीले छलफल शुरु गर्नुभएको हो ।

थापाका अनुसार करिब साढे चार घण्टा लामो आजको छलफल अत्यन्तै उपलब्धिमूलक रूपमा टुंगिएको छ । विज्ञहरूबाट लकडाउन कडाइ गर्ने वा २१ दिन तोकेर कर्फ्यु लगाउने वा संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन् ।

अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जोड दिइएको छ । निष्कर्षमा प्रधानमन्त्रीज्यूले विभिन्नखाले सुझावहरू आएकोमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गर्नुभयो । यसअघि प्रधानमन्त्री ओलीले गत जेठ २१ गते पनि स्वास्थ्य क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।


प्रकाशित | २० श्रावण २०७७, मंगलवार १५:४०