कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले नेपाललाई सुझायो यस्तो उपाय

काठमाडौं – विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्काबीच दूरी कायम गर्न अपील गर्नुभएको छ ।

पछिल्लो समय सरकारले लकडाउन हटाइसके पछाडि मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण बढ्दै गएको छ । संक्रमण कम गर्नका लागि एक अर्काबीच दूरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ ।

तर मानिसहरुको भिडभाड बढ्न थालेपछि विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले दुरी कायम गर्न अपील गर्नुभएको हो । खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भइरहेको र एक अर्काबीच दूरी कायम गर्नु नै सबैभन्दा सुरक्षित उपाय भएकाले सावधानी अपनाउन भ्याण्डेलरले अपील गर्नुभएको हो ।

उहाँले कम्तिमा १ मिटरको दूरी कायम गरेर क्रियाकलाप गर्न ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै मास्कको प्रयोग र हात धुने बानीले संक्रमणको झिनो सम्भावना हुने भएकाले सबैलाई सजगताका साथ प्रयोग गर्न अपील गर्नुभएको छ ।

जोस भ्याण्डेलरले भन्नुभएको छ, ‘कोभिड एक प्रकारको रोग हो यसले हामी सबैलाई असर गरेको छ । कोभिडको भाइरस हामीले खोक्दा अथवा छुँदा अर्को व्यक्तिमा संक्रमण भैरहेको छ । यो रोग संक्रामक भए पनि जोगिनका लागि सजिलो उपायहरु छन् । हामीले एक अर्काबीच दूरी कायम गरेर यो रोगको संक्रमणलाई धेरै हदसम्म रोक्न सक्छौं । कम्तिमा १ मिटरको दूरी कायम गर्न सक्यौं भने मात्र पनि जोगिन सकिन्छ । हामी आफै संक्रमित भए अरुलाई पनि संक्रमण बनाउन सक्छौ । तर हामीले काम व्यवहारमा एक अर्काबीच दूरी कायम गर्न सके संक्रमण हुने झिनो सम्भावना मात्र हुन्छ ।

त्यसैले एक अर्काबीच दूरी बनाउनु धेरै महत्वपूर्ण छ । हामीले दूरी कायम गर्न सकेमा संक्रमण रोक्न, लकडाउन हुन नदिन, संक्रमण समुदायमा फैलनबाट रोक्न सकिन्छ । हाम्रो भौतिक दूरी संक्रमण रोक्ने एक अचुक कडी हो । यस्तै मास्कको प्रयोग अर्को सरल उपाय हो । यसले पनि संक्रमित व्यक्तिको सम्पर्कमा आइहालेमा रोक्न मद्दत गर्दछ । यस्तै अर्को सरल उपाय नियमित हात धुने पनि हो । हामीले दूरी कायम गर्न सके कसैलाई छुन पर्दैन । यसैले मेरो सबै नेपाली दाजु भाइलाई बिनम्र अनुरोध छ दूरी बढाऊ संक्रमित बाट जोगिऔँ, धन्यवाद।’


प्रकाशित | १९ श्रावण २०७७, सोमबार १५:०१