बैंकमै थन्कियो पौने ३ अर्ब बराबरको ३ सय २१ किलो सुन

काठमाडौं -अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको वृद्धि तथा सोही कारण नेपाली बजारमा मागसमेत खस्किएकाले बैंकहरूले आयात गरेको ३ सय २१ केजी सुन बिक्री हुन सकेको छैन । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार गत ९ साउनसम्म उक्त परिमाणको सुन बैंकमा स्टक रहेको छ । अहिलेको बजार मूल्यअनुसार बैंकहरूमा २ अर्ब ७१ करोड रुपैयाँ बराबरको सुन स्टक रहेको हो ।

‘बुधबार ४ बजेको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार प्रतिदश ग्राम सुनको मूल्य ८४ हजार ६ सय ४७ रुपैयाँ हुन्छ,’ एक बैंकका वित्त विभाग प्रमुखले भने, ‘यस आधारमा बैंकहरूसँग अहिले भएको सुनको मूल्य करिब २ अर्ब ७१ करोड बराबर हो ।’ २१ वाणिज्य बैंकले गत आर्थिक वर्ष ०७६र७७ का लागि कुल २ हजार ४ सय सुन ल्याउने अनुमति पाएका थिए । राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्ममा भने कुल १३ अर्ब ६३ करोड रुपैयाँको सुन आयात भएको थियो । यो गत वर्षको तुलनामा करिब ५७ प्रतिशतले कमी हो ।

न घाटा, न नाफा

बैंकहरूमा सुन नबिकेर थुप्रिए पनि यसले खासै घाटा वा नाफा हुने अवस्था भने छैन । बैंकहरूले स्ट्यान्ड बाई ग्यारेन्टीअन्तर्गत सुन आयात गरेका हुन्छन् । अर्थात्, बैंकहरूले सुन खरिद गरेरभन्दा पनि स्टकका रूपमा ल्याएका हुन्छन् । यस्तो स्टक जुन मितिमा बिक्री हुन्छ, त्यही समयको मूल्यका आधारमा सुन उत्पादकलाई बैंकहरूले भुक्तानी गर्नुपर्छ । यस्तो ग्यारेन्टीका रूपमा नेपाली बैंकको पक्षबाट अन्तर्राष्ट्रिय बैंकले जमानी बसिदिएको हुन्छ । सामान्यतया यसरी स्टक ल्याएको सुनको करार अवधि १ वर्ष हुन्छ । तर, यदि बिक्री भएन भने बैंकहरूले करार नवीकरण गर्नुपर्छ । करार नवीकरण गर्दा प्रतिकेजी सुनको मूल्यको १ प्रतिशत रकम वार्षिक शुल्कका रूपमा तिर्नुपर्ने हुन्छ ।

‘मूल्य घटबढको जोखिम भनेकै सुन उत्पादकको हुन्छ,’ ती बैंकरले भने, ‘हामीले एक हदमा भन्दा उधारोमा ल्याएर बेच्ने हो ।’ एक वर्षसम्म बिक्री नभएमा पनि बैंकहरूले थप शुल्क भने तिनुपर्ने हुन्छ । बैंकले त्यसमा आयात ढुवानी ९प्रतिऔँस लागत २ देखि ३ डलर०, ग्यारेन्टी र बिमा लागतसमेत जोड्न पाउँछन् । त्यसबाहेक बैंकहरूले भने त्यसमा ०।५ प्रतिशत मार्जिन राख्छन् । बैंकबाट सुन खरिद गरेर बिक्री गर्ने व्यापारीले पनि ०।५ प्रतिशत थप शुल्क जोड्दै आएका छन् ।

बैंकहरूले चार महिनायता सुन आयात नै गरेका छैनन् । चैतअघिसम्म दैनिक २० केजी सुन आयात गर्न पाइने व्यवस्थालाई नियन्त्रण गर्दै राष्ट्र बैंकले १९ चैतबाट यो कोटा घटाएर १० केजीमा सीमित पारेको थियो । कोटा घटेयता नै सुनको आयात रोकिएको छ । तर, बैंकहरू भने कोटा घटेको कारण नभई कोभिडका कारण भएको बन्दाबन्दी, बजारमा माग शून्य अवस्था र ल्याएको सुन नै बिक्री नभएका कारण आयात रोकिएको बताउँछन् । गत आर्थिक वर्षभरि जस्तै सुनको मूल्य उकालो लाग्यो । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा विजयराज खनालले लेखेका छन् ।


प्रकाशित | १५ श्रावण २०७७, बिहीबार ०८:०८