‘दोष जती सवै ओलीलाई लगाएर पानी माथिको ओभानो बन्छौं भन्ने नसोचे हुन्छ’

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पार्टी भित्र विभिन्न प्रकारका समस्याहरु पैदा गर्ने अध्यक्ष  प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेतृत्वलाई महानायक बन्ने की नालायक बन्ने भनि गम्भिर प्रश्न गर्नुभएको छ ।

आज नेपाली रेडियो नेटवर्कमा अन्तरवार्ता दिँदै उहाँले इतिहासको एउटा गम्भिर कालखण्डमा नेतृत्वहरु उभिनुभएकाले पार्टी तथा मुलुकको लागि वर्तमान नेकपाका नेतृत्वहरु महानायक बन्ने की नालायक बन्ने भन्ने गम्भिर जोखिममा नेतृत्व रहनुभएको बताउनुभयो । सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने भूमिका खेल्नुपर्नेमा केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरुहरु रहनुभएको उल्लेख गर्दै उहाँले एकले अर्कालाई दोषारोपण गरेर अघि बढ्दा नेतृत्व महानायक हुने भन्दा पनि नालायक हुने बाटोमा अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

हिजो अध्यक्ष प्रचण्डले एक कार्यक्रममा पार्टी संकटमा रहेको साथै प्रधानमन्त्री ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भएको भनि दिनुभएको अभिव्यक्तिलाई लक्षीत गर्दै उहाँले भन्नुभयो, ‘पार्टीलाई संकटमा छ भन्दै पार्टी एकता विरुद्ध अभिव्यक्ति दिँदै एकले अर्कालाई हिलो छ्याप्दै जानु उहाँहरु महानायक हैन, नालायक बन्दै जाने हो की भन्दै आम जनताले संका गर्ने वातावरण सिर्जना भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एमाले दर्ता गराएको भनि प्रचण्डले लगाएको आरोप आधारहित हो । एकलाई अर्काले हिलो छ्याप्ने काम मात्र भएको छ । निर्वाचन आयोगमा एमाले पनि दर्ता भएको र माओवादी केन्द्र पनि दर्ता भएको छ । दुवै पार्टी दर्ता भएका छन् । एउटालाई मात्र दोष दिएर हुन्छ ?’

प्रधानमन्त्री ओलीलाई दोष देखाएर आफु उम्किन खोज्ने नेतृत्वहरुले उक्त आरोप लगाएको स्पष्ट पार्दै उहाँले नेकपा एमाले दर्ता गर्ने व्यक्तिहरुले आफु तथा अन्य केही नेताहरुसँग बसेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेको देखेकाले आरोप लगाएको तर त्यो आरोप सत्य नभएको स्पष्ट पार्नुभयो । नेकपा भित्र विभाजन र समस्याका रेखाहरु कोरिने हुँदा नेकपा एमालेको डोमेन रक्षा भएको उक्त पार्टी दर्ता गर्ने व्यक्तिहरुले सार्वजनिक रुपमा बताएको समेत उहाँले जानकारी दिनुभयो । नेकपा कमजोर भएमा कांग्रेस तथा मधेसवादी दलले बढी मात्रामा लाभ प्राप्त गर्ने भएकाले नयाँ दल दर्ता गर्ने जनताको नैसर्गिक अधिकार भएको बताउँदै जिम्मेवार नेताले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु नुहेनतर्फ सचेत समेत गराउनुभयो ।

कुनै पनि कुरालाई विवेक पुर्याएर बोल्नुपर्ने नेताले नै गैर जिम्मेवारीपूर्वक अभिव्यक्तिहरु दिइरहेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले पद लोलुपता, कुण्ठा ग्रस्त मानसिकता, अवसरवादी चरित्रका कारण प्रकट भई अरुलाई हिलो छ्याप्ने र आफुलाई पानीमाथिको ओभानो बन्ने प्रयत्न भएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विधि र प्रकृयाको सवैभन्दा वढी वकालत गर्ने माधव नेपालले दुई अध्यक्षले महाधिवेशनको प्रस्ताव लैजादाँ सवैभन्दा पहिलो त्यसको विपक्षमा उभिनुभयो । विधि र प्रकृया भनेको त महाधिवेशनबाट नै चुन्ने प्रकृया होला नी त ? जनताले आम निर्वाचनको माध्यमबाट जनप्रतिनिधि चुन्ने र त्यसै गरी पार्टी भित्र महाधिवेशन नै आम कार्यकर्ताले आफ्नो सार्वभौम सत्ताको उपयोग गरी शसक्त माध्यम हो । त्यसैले माघ, फागुनमा हैन, मंसिरमा नै महाधिवेश गरी एकल नेतृत्वको माध्यमबाट दुई अध्यक्षहरु लगभग सहमत भएको तर उक्त कुरालाई सवैभन्दा बढी आपत्ती जनाउने र उफ्रिने कुरा त माधव नेपालले नै गर्नुभयो ।’

केही दिन अघि अध्यक्षद्वयको वालुवाटारमा भएको छलफल पछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न जानुभएको कुरामा समेत अध्यक्ष प्रचण्डले आफुलाई वाध्यतावस राष्ट्रपति कार्यालय सितलनिवास पुर्याइएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिनुभएको भन्दै उहाँले अध्यक्ष प्रचण्ड जस्ता वोल्ड निर्णय गर्ने नेतालाई त्यस्तो फ्याङ्लो बनाउने कुरामा वरिष्ठ नेता माधव लगायतका नेताहरुले घृणित खेल खेलेको, गुटको राजनीतिलाई बढावा दिएको समेत स्पष्ट पार्नुभयो ।

सरकारलाई काम गर्न नसक्ने अवस्था सिर्जना गरी घेरावन्दीमा राख्ने कार्य पार्टीभित्रबाट हुँदा पनि सरकारले उत्कृष्ट नै काम गरिरहेको बताउनुभयो । दुई अध्यक्षले गरेको निर्णयलाई व्यक्तिगत भनि कसैले व्यख्या गर्न नमिल्ने भन्दै उहाँले भन्नुभयो, ‘दोष जती सवै केपी ओलीको टाउकोमा लगाएर हामी चाँही पानी माथिको ओभानो बन्छौं भन्ने नेकपाका नेतृत्वले नसोचे हुन्छ । सरकारले राष्ट्रियता, कोरोना, प्राकृतिक विपत्ती, सीमा रक्षालगायतका खेलेको भूमिकालाई जनताले वाहा ! वाहा ! नै गरिरहेकोेले माधव र प्रचण्डले लगाएको आरोप कपोकल्पीत हो ।’

मनभित्र अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपतिलगायतका पदहरु कुनै एउटा होटलमा बसी बाँडफाँड गर्नेहरुले चरम गुटको राजनीति गरिरहेको प्रति आक्रोस व्यक्त गर्दै उहाँले भन्नुभयो, ‘पार्टी अध्यक्षले पार्टीको निर्णय मान्नुभएन भनि कसैले प्रश्न गर्छ भने एउटा औंलाले अरुलाई देखाउँछ बाँकी चार वटा औंलाले आफैलाई देखाउँछ ।’

हिजो अध्यक्ष प्रचण्डले एक कार्यक्रममा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रधानमनत्री ओलीले नभई आफुले निकालेको अभिव्यक्ति दिनुभएको प्रती लक्षीत गर्दै उहाँले विगतमा प्रधानमन्त्री हुनुभएका सम्पूर्ण नेतृत्वको इतिहास नेपाली जनताले स्पष्ट बुझेकाले कसले के गर्यो भन्ने जनता जानकार रहेको समेत बताउनुभयो । एउटाले गरेको जस आफुले गरेको भनि प्रचारवाजी गर्नु दुःखद् भएको बताउँदै उहाँले राम्रोलाई राम्रो र नराम्रो लाई नराम्रो भन्न नसक्नु नेतृत्वको ठूलो गल्ती भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कालापानीको समस्या ५८ वर्ष अघिदेखीको रहेको र माधव प्रचण्ड, झलनाथलगायतका प्रधानमन्त्री हुँदा के हेरेर बस्नुभयो ? आफु केही गर्न नसक्ने अनि अर्कोले गर्यो भने पनि समर्थन गर्न नसक्ने ? विगतका प्रधानमन्त्रीको इतिहास साक्षी छ । कसैले मै हुँ भनेर ठूलो कुरा नगरे हुन्छ । यसमा आम जनताले बुझेका छन् । भागबण्डामा कमिटी बनाउने अनि अल्पमत र बहुमतको कुरा गर्ने ? महाधिवेशनमा जान पनि आँट नगर्ने, अनि विधिको कुरा गर्ने ? पार्टी एकतामा भएको समझदारीमा गरेको हस्ताक्षर सुक्न नपाउँदै अल्पमत तथा बहुमतको कुरा गर्ने ? ओलीले भागबण्डामा दिएको पदले विधिको कुरा गर्ने ?’


प्रकाशित | १० श्रावण २०७७, शनिबार १६:२०