नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, १०७ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १३३ जना थपिएका हुन । यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७४ पुगेको छ ।

त्यस्तै, शुक्रबार थप १०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ९ सय ४७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घन्टामा ३ हजार ९ सय ८७ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

थप एकको निधन

वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको शुक्रबार मृत्यु भएको हो।

एक निजी अस्पतालमा उपचाररत ती महिलाको कोरोना पुष्टि भएपछि उहाँलाई नारायणी अस्पताल रिफर गरिएको थियो। प्रवक्ता गौतमका अनुसार उहाँ मुटुरोगका बिरामी हुनुहुन्थ्यो। निमोनिया पनि भएको थियो। योसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४४ पुगेको छ।


प्रकाशित | ९ श्रावण २०७७, शुक्रबार १६:३३