लकडाउन अन्त्य भएको घोषणा, भदौ १ गतेबाट लामो दूरीका गाडी र शैक्षिक गतिविधि सञ्चालन गर्न पाइने

काठमाण्डौ : सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ। सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिनु भएको हो ।

सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ। हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ र टेक अवे सेवा मात्र दिने अनुमाति छ ।

साउन १५ बाट भने होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो ।

‘ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिनेछ’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो । ‘हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो’ उहाँले बताउनुभयो ।

त्यसैगरी सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ ।

अब बिहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।


प्रकाशित | ६ श्रावण २०७७, मंगलवार १९:४०