देशभर झरी : बाढी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह

काठमाण्डौ : आज देशभर रातिदेखि नै पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध गरेको छ । अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ ।

काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रकाशित | ५ श्रावण २०७७, सोमबार ०९:४७