नेकपा स्थायी कमिटी बैठक स्थगित, दुई अध्यक्षबीच छलफल

काठमाण्डौ : सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुने भएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म सारिएको हो । आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजो भएको अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि पार्टीभित्र शक्तीसघर्ष चल्न थालेको हो ।


प्रकाशित | २ श्रावण २०७७, शुक्रबार ११:४९