प्रधानमन्त्रीको अभिब्यक्ति अप्रमाणित, गैरजिम्मेवारी र विवादस्पद : कांग्रेस नेता कोइराला

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याको बारेमा दिएको अभिव्यक्ति अप्रमाणित, गैरजिम्मेवारी र विवादस्पद भएको आरोप लगाउनुभएको छ । आफ्नो आधिकारिक फेसबूक ह्याण्डलमा संक्षिप्त टिप्पणी गर्दै नेता कोइरालाले प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएर नेपाल भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध बिगारेको टिप्पणी गर्नुभएको छ ।

नेता कोइरालाले नेपालले लुम्बिनी र भगवान् गौतम बुद्धका बारेमा कसैसँग सम्झौता गर्न नसकेजस्तै भारतले पनि अयोध्या र रामको बारेमा सम्झौता गर्न नसक्ने उल्लेख गर्नुभयो ।

‘जसरी गौतम बुद्ध र लुम्बिनीका बारेमा हामी कसैसँग सम्झौता गर्न सक्दैनौं, त्यसैगरी भारतीयहरु मर्यादा पुरुष भगवान् श्रीराम र अयोध्याका बिषयमा केही कुरा सुन्न चाहादैनन् ‘, उहाँले फेसबूकमा लेख्नुभएको छ ।

यसैगरी नेता कोइरालाले अयोध्या सम्पूर्ण भारतवासीहरुको आस्थाको केन्द्र रहेको पनि स्मरण गराउनुभएको छ । उहाँले धर्म र आस्थालाई राजनीति तथा कूटनीतिको हतियार बनाएर सत्ताको मलजल गर्नु कसैलाई सह्य नहुने पनि उल्लेख पनि गनुृभएको छ ।


प्रकाशित | ३० असार २०७७, मंगलवार २०:५३