मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुई जना बेपत्ता

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने बाँध फुट्दा २ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् । बाढीले एउटा गाडी पनि बगाएको छ । दिउँसो करिब १.०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका चार जनामध्ये दुई जना बेपत्ता भएका हुन ।

आयोजनाका कर्मचारी युवराज गिरीका अनुसार सुरुङको परीक्षणका लागि पानी पठाउन बनाइएको अस्थायी बाँध फुटेको हो । बाँध फुटदा आयोजनाका सवारी चालक राधाकृष्ण थापा मगर र इन्जिनियर सतिश गोहित बेपत्ता भएका छन ।

त्यस्तै परामर्शदाता दोर्जे पेन्बा र इन्जिनियार शेखर खनाल घाइते हुनु भएको छ । घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ्ले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाले एक हप्ता अघिदेखि सुरुङ परीक्षण गरिरहेको छ ।


प्रकाशित | ३० असार २०७७, मंगलवार १४:५९