सरकारले निर्णय गरेपनि चलेनन् सार्वजनीक सवारी, ब्यवसायी भन्छन् – अहिलेकै अवस्थामा चलाउन सक्दैनौँ

काठमाण्डौ : सरकारले शुक्रबारदेखि सार्वजनीक सवारी साधन सञ्चालन गर्ने निर्णय गरे पनि यातायातका साधन सञ्चालनमा आएनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अहिलेकै अवस्थामा सार्वजनीक गाडी चलाउन नसकिने अडान लिएपछि सरकारले निर्णय गर्दा पनि सार्वजनीक यातायात सञ्चालनमा आउँन नसकेका हुन ।

ब्यवसायीले लकडाउनको एक सय १० दिनसम्म पार्किङमा रहेका गाडी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने अवस्था भएकोले पुनर्कर्जाको व्यवस्था गर्नुपर्नेलगायतको माग गर्दै यातायातका साधन सञ्चालन नल्याएका हुन । सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै महासङ्घले अहिलेकै अवस्थामा यातायात सञ्चालन गर्न नसकिने बताएको थियो ।

महासङ्घको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले लकडाउन अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्ने लगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय पनि गरेको छ ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले लकडाउनको एक सय १० दिनसम्म पार्किङमा रहेका गाडी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने अवस्था भएकोले पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कोरोना बीमा गर्नुपर्ने नत्र सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको जानकारी गराउनुभयो ।

भाडा बढाएर गाडी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकोले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले जिल्लाभित्र मात्रै सञ्चालन गर्ने गरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि सरकारले गरेको थियो ।


प्रकाशित | २६ असार २०७७, शुक्रबार २०:१६