सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलियो

काठमाडौं : सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोसी ब्यारेजमा गरिएको पछिल्लो मापनअनुसार २ लाख ५६ हजार ६ सय १५ क्युसेकका दरले बहाव भइरहेको छ । पानीको बहाव यो वर्षकै उच्च हो । 

सप्तकोसीमा पानीको बहाव उच्च भएपछि खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ ।

पाँच वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढ्दै गएको हो ।


प्रकाशित | २६ असार २०७७, शुक्रबार १५:४६