मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाए

एजेन्सी : लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । सोमबार राति उरुग्वेसंंग भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले २–२ को बराबरी खेलेको हो । हारतर्फ उन्मुख अर्जेन्टिनालाई मेस्सीले ईन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै जोगाएका हुन् ।

खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो । सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । लुईस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै उरुग्वेलाई पुन अग्रता दिलाए ।

तर जिततर्फ उन्मुख उरुग्वेलाई मेस्सीले खेलको अन्तिम समयमा निराश पारे । अन्तराष्ट्रिय प्रतिबन्धबाट फर्किएका लियोनल मेस्सीले अर्जेन्टिनामा राम्रो प्रभाव जमाएका छन् । अघिल्लो खेलमा उनकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो ।


प्रकाशित | ३ मंसिर २०७६, मंगलवार १०:४३