नेपालमा कोरोना संक्रमितमध्ये ४६ प्रतिशत डिस्चार्ज, चार जिल्ला कोरोनामुक्त

काठमाडौं : नेपालमा कोरोना संक्रमण घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दै गएको हो । त्यस्तै, नेपालमा संक्रमितमध्ये निको हुनेको संख्या भने बढ्दै गएको छ । नेपालमा कोरोना भाइरस संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र ६ सय ८८ जनाले कोरोना जितेका छन् । यो सहित डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ७ हजार ४ सय ९९ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालमा ४ जिल्ला कोरोनामुक्त भएका छन् । प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्लामा पछिल्लो समय संक्रमित नदेखिएका हुन् । पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार १६८ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।


प्रकाशित | २३ असार २०७७, मंगलवार १७:०३