मेलम्ची खानेपानी आयोजना नयाँ चरणमा प्रवेश : खानेपानी मन्त्री बीना मगर

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी छाडिएको छ । आयोजनाको सुरुङमा आइतबार पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको सरकारले दावी गरेको छ ।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउन बनाइएको २६ किलोमिटर सुरुङमा आइतबार पानी छोडिएको हो । खानेपानी मन्त्री बिना मगरले आयोजनाको काम अन्तिम चरणमा पुगेकोले काठमाडौँबासीले छिट्टै मेलम्चीको पानी पिउन पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसरी विभिन्न समस्या र चुनौतीहरु पार गर्दै काठमाडौंबासीको दुई दशकभन्दा लामो ब्यग्र प्रतीक्षालाई सम्बोधन गर्ने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको व्यहोरासमेत सार्वजनिक गर्दछौं ।’

सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी सकिएको मेलम्ची खानेपानी विकास आयोजनाले जनाएको छ । अहिले परीक्षणका लागि प्राविधिक मापदण्डअनुसार प्रति सेकेन्ड २६० लिटर पानीका दरले सुरुङमा पानी प्रवाह गरिएको छ ।

‘यस अनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिन करिब १५ देखि २० दिनसम्म लाग्ने प्राविधिक अनुमान छ । पूर्ण भरिएको सुरुङलाई करिब १० दिन यथास्थितिमा राखिनेछ र त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरिँदा पुन १५ –२० दिन लाग्न जानेछ ।’

सुरुङ खाली भएपछि सुरुङको अवस्थाको पूर्ण परीक्षण गर्न ७ दिन लाग्ने आयोजनाले जनाएको छ । इटालियन कम्पनी सीएमसीले बीचैमा काम छाडेपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।


प्रकाशित | २१ असार २०७७, आईतवार १७:२८