नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २३२ जनामा संक्रमण

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २३२ जनामा संक्रमण देखिएको हो। आज थपिएका २३२ सहित नेपालमा संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ६४१५ पुगेको छ।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ। त्यस्तै, थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। देवदह नगरपालिका रुपन्देहीका ७५ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा असार १७ गते मृत्यु भएको हो। उनलाई १४ गते अस्पताल भर्ना गरिएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी क्षयरोगका बिरामी थिए। उपचाका क्रममा मृत्यु भएपछि उनको असार १८ गते पिसिआर परीक्षण गरिएको थियो। उनको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

शनिबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ४४ वर्षीय पुरुषको मृत्यु भएको जानकारी सार्वजनिक गरेको थियो।

निर्देशनालयका अनुसार कतारबाट आएका पालुङटार नगरपालिका वडा नम्वर ७ का पुरुषको शनिबार बिहान ५स्०५ बजे मृत्यु भएको हो। कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि शुक्रबार अस्पताल भर्ना गरिएको थियो। उनी असार १७ गते कतारबाट नेपाल फर्केका थिए। योसँगै नेपालमा ३४ कोरोना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | २० असार २०७७, शनिबार १७:०१