इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको महत्व

श्रीकृष्ण सुलु

विज्ञानमा व्यवहार या व्यापार जोडिएपछि प्रविधि बन्छ । हाम्रो दैनिक जीवन दिनानुदिन प्रविधिमय बन्दै गइरहेको छ । हामी दैनिकजसो मोबाइलमा कुरा गर्छौ । कोशौ टाढासम्म भिडियो च्याट गर्छौं । कम्प्युटर या ल्यापटप चलाउछौं, इन्टरनेटमार्फत समाचार या सूचना हेर्छौ, खेल खेल्छौं । फेसबूक (facbook) या ट्विटर (twitter) अकाउन्ट प्रयोग गर्छौं । भाइबर (viber), इमो(imo), व्हाटस आप(whats app), यु ट्युब (youtube) आदि सबैको प्यारो बनेको छ । सूचना तथा सञ्चारको यति विधि विकास भएको यो समयलाई सूचना तथा सञ्चार प्रविधि (Information and Communication Technology) को युग पनि भनिन्छ। सूचना तथा सञ्चार प्रविधिको औपचारिक अध्ययन अध्यापन इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ ( Electronics, Communication and information Engineering) र कम्प्युटर इन्जिनियरिङ (Computer Engineering) मा गराइन्छ । बिशेष गरी हार्डवेयर (Hardware ) सम्बन्धी अध्ययनलाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ (Electronics Engineering) र सफ्टवेयर (Software) सम्बन्धी अध्ययनलाई कम्प्युटर इन्जिनियरिङ (Computer Engineering) भनिन्छ ।

मनोरन्जनदेखि औषधी उपचारसम्ममा प्रयोग

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको प्रयोग जीवनका हरेक झैं पक्षमा भइरहेको छ । मनोरन्जन (Entertainment) देखि औषधी उपचार (Medical Treatment) सम्म यसको प्रयोग भएको पाइन्छ । भिडियो गेम, एनिमटेड चलचित्रदेखि औषधिमूलो र जटिल अप्रेसनसम्ममा इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको व्यापक प्रयोग भइरहेको छ । त्यस्तै कला र बाणिज्य (Art and Commerce), कार्यालय स्वचालितिकरण (Office Automation), व्यापार भिजुलाईजेसन (Business Visualization), वैज्ञानिक अनुसन्धान (Scientific Research), CADD (Computer Aided Design and Drafting), भर्चुअल रियालिटी (Virtual Reality) लगायत झन् भन्दा झन् नयाँ क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग भइरहेकोले यसको महत्व अझ बढ्दैछ । र, सूचना प्रविधि मानवनिर्मित दोश्रो प्रकृति भएको छ ।

इन्टरनेटमार्फत भुक्तानी र अनलाइन किनमेल

पहिला पहिला बिजुली, पानी, टेलिफोन, आदिको बील तिर्न घण्टौ लाइन बस्नु पर्थ्यो, पैसा तिर्न अफिसमै पुग्नु पर्थ्यो । अहिले यी सबै काम इन्टरनेट र मोबाइलमार्फत क्लिकको भरमा एकै क्षणमा हुन्छ । इन्टरनेट बैङ्किङ्ग, मोबाइल बैङ्किङ्गवाट शुल्क भुक्तानी, एटीएम(ATM), डेविट कार्ड (Debit Card), क्रेडिट कार्ड (Credit Card) को प्रयोग, ई–कमर्स, ई–विज्नेस र इन्टरनेटमार्फत सामानहरूको अनलाइन किनमेल सामान्य भइसकेको छ ।

अनलाइन जानकारी र कम्पुटराइज्ड सेवा सुविधा

एसएलसीको नतिजा हेर्न पनि पहिला कति दिन कुर्न पर्थ्यो । घाम लागेन भने नापी कार्यालयवाट नक्सा निकाल्न मिल्दैन्थ्यो । ठेक्कापट्टामा व्यापक गुण्डागर्दी हुँन्थ्यो । नामावलीमा नाम नभएको जानकारी नहुँदा कतिले टिकट पाएर नि उम्मेदवार हुन पाउँथेन । सरकारी काममा मनपरी, बल मिचाइ, र पत्यारलाग्दो ढिला सुस्तिले अफिस जानु जेल जानु जस्तो कष्टसाध्य थियो । सूचना तथा सञ्चार प्रविधिको प्रयोगले यी समस्याहरु केही हदसम्म हल भएको छ । अहिले निजी, सरकारी, गैरसरकारी वा सामाजिक सङ्घसंस्था, कार्यालय, विद्यालय, उद्योग, कलकारखानाहरूले इन्टरनेटमार्फत अनलाइन जानकारी र सेवा सुविधाहरू उपलब्ध गराइरहेका छन् भने कतिपय काम कम्प्युटरवाट हुनाले धेरै सजिलो र भरपर्दो भएको छ ।

संसार ‘अटाउने’ मोबाइल

प्रविधिको विकासले सानो चिप्समा पनि धेरै चीज अटाउने भएको छ । एउटै मोबाइलमै हजारौको फोन नम्बर रेकर्ड गर्न सकिन्छ, लाखौ फोटो र भिडियो राख्न सकिन्छ, अथाह तथ्याङ्क र सूचनाहरू सुरक्षित गर्न सकिन्छ, विश्व समाचार हेर्न सकिन्छ, आर्थिक कारोवार गर्न सकिन्छ, खेलकुद प्रतियोगिता या अन्य रुचिको विषयवारे प्रत्यक्ष हेर्न सकिन्छ । यो सबैको देन ईलेक्ट्रोनिक्स र कम्प्युटर ईन्जिनियरिङको विकासलाई जान्छ ।

यान्त्रिकीकरणवाट स्वचालितकरणको युगमा प्रवेश

इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रीकल मेकानिकल इन्जिनियरिङको सहकार्यमा औद्योगिकिकरण र यान्त्रिकीकरण मात्र बढेन अपितु स्वचालितकरण (automation) समेत भएको छ । त्यसैले अहिलेको जमानालाई स्वचालितकरण (automation) को जमाना पनि भनिन्छ । अहिले भाषा रुपान्तरण, होलोग्रम, स्वचालित र सचेत रोबोटसम्मको विकासले नवीनतम र दिमागी (mind blowing technology) प्रविधि भनेर सूचना प्रविधिलाई मानिन्छ ।अब भविष्यको विकास भनेको नै इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको विकास जस्तै भएको छ ।

सूचना प्रविधिको ज्ञान नहुनु आँखा नहुनु वरावर

मानव सिर्जित नविनत्तम ज्ञानको श्रोत सूचना प्रविधि भएको छ । इन्टरनेटमा प्राय: खोजेको सबैजसो कुरा भेटिन्छ । इन्टरनेट मार्फत आफ्नो वा आफ्नो उत्पादनको विज्ञापन देखि आफ्नो रुची अनुसारको अन्वेषण सम्म गर्न सकिन्छ । यसलाई उपायोग गर्न जानिएन भने धेरै पछी परिन्छ । त्यसैले सूचना प्रविधिको ज्ञान नहुनु आँखा नहुनु जतिकै भइसकेको छ ।

सूचना चुहावट र निगरानी ( surveillance) को युग

प्रविधि को उपयोग अहिले उत्पादन, रुपान्तरण र वितरण बढाउने काममा मात्र सिमित छैन । अहिले त प्रविधिको प्रयोग सूचना चोर्ने र निगरानीमा राख्ने सम्मको गंभीर काममा भइरहेको पाइन्छ। अहिलेको चीन- अमेरिका व्यापार युद्ध वा हुवाइ वा ५ जि प्रकरण पनि यसैको नयाँ कडी हो । कृतृम बुद्धिमता (Artificial Intelligence) को प्रयोग गरी स्वचलितकरण (Automation), यन्त्र सिकाइ (Machine learning), यन्त्र दृष्टी (Machine vision), प्राकृतिक भाषा प्रणाली (Natural Language Processing), प्याटर्न पहिचान (Pattern recognition), रोबोटिक्स (Robotics) आदिको विकासको कारण अव सूचना प्रविधिको क्षेत्र बिराट बनेको छ. अब देशमै यस्ता अत्याधुनिक प्रविधि विकास नगर्ने हो भने देशका गोप्य सूचना चोरी हुन सक्ने र संवेदनशील क्षेत्र समेत थाहा नपाई निगरानीमा हुने सक्ने खतरा छ । सूचना चुहावट रोक्न डाटालाई बिग्रिन र नष्ट हुनबाट जोगाउनु, डाटाको गोप्यता, उपलब्धता र सत्यतालाई जोगाइ राख्ने र अनाधिकारिक प्रयोग हुनबाट सुरक्षित गर्नु, अहिलेको अहम आवश्यकता भएको छ। भाइरस र ह्याकरवाट डिजिटल डाटा सुरक्षित बनाउन सकिएन भने ठुलो दुर्घटना हुन सक्छ । त्यसैले सूचना र संचार प्रविधिको अध्ययन,अध्यापन र अन्वेषणमा जोड दिनु अनिवार्य छ ।

असान्ज (Assange) को जमाना

अहिले जोसँग सूचना प्रविधि छ उसले जित्ने वा ऊ नै सबभन्दाअ शक्तिशाली बन्ने जमाना आएको छ । महाशक्ती भनिएका देशहरुलाई पनि एउटा पत्रकार असान्ज (Julian Assange) ले हलाई दिएको छ । त्यसैले अहिलेको जमानालाई असान्जको जमाना पनि भनिन्छ । अव सूचना प्रविधिमा नियन्त्रण हुनेले नै संसार नियन्त्रणमा लिनेछ । यसैले इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ शिक्षाको महत्व बढ्दै छ ।

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ को ७० प्रतिशत कोर्ष मिल्छ

इलेक्ट्रोनिक्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको ७० प्रतिशत भन्दा बढी सिलेबस या कोर्ष मिल्छ । ईलेक्ट्रोनिक्समा कम्युनिकेसनका विषयतिर बढी जोड दिइन्छ भने कम्प्युटरमा डाटावेस र प्रोग्रामिङतिर बढी जोड दिइन्छ । इलेक्ट्रोनिक्स इन्जिनियरिङ बढी हार्डवेयर केन्दृत र कम्प्युटर इन्जिनियरिङ बढी सफ्टवेयर केन्दृत भए पनि इलेक्ट्रोनिक्स इन्जिनियरले पनि सफ्टवेयर सम्बन्धी काम पनि गरी रहेको हामी देख्छौं ।

रोजगारीका अनेक क्षेत्र

कम्प्युटर इन्जिनियरले गर्ने नेटवर्किङ, प्रोग्राममिङ्, वेबसाईट डिजाइन, डाटावेस, इमेज प्रोसेसिङका काम इलेक्ट्रोनिक्स इन्जिनियरले पनि गरी रहेको पाइन्छ । नेपालमा आइटी कम्पनीहरु, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू, दूरसञ्चार कम्पनीहरू, हार्डवेयर कम्पनीहरू, सफ्टवेयर कम्पनीहरू, वेबसाइट बनाउने कम्पनीहरू, रेडियो टेलिभिजन, उड्डयन, स्याटेलाइट अफिसहरू, निजी, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, उद्योग, कलकारखानाहरूहरूका सूचना प्रविधी सम्बधी कामहरु इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरहरुका रोजगारीका क्षेत्र हुन् ।

ग्लोवल क्यारियर

सूचना प्रविधिको ज्ञान, सीप र अनुभव विश्वव्यापी छ । कती पेशामा एक ठाउँको अनुभव अर्को ठाउँमा काम लाग्दैन । तर सूचना प्रविधिको अनुभव विश्वभर काम लाग्छ । सूचना प्रविधिको कामलाई ग्लोवल क्यारियर भनिन्छ ।

राम्रो आम्दानी र अवको भविष्य

सूचना प्रविधी विश्वमा सबभन्दा धेरै आम्दानी हुने पेशामा मात्र पर्दैन अपितु भविष्यको रोजगारीको ठुलो क्षेत्र पनि यही हुने देखिन्छ । एक अध्यायन अनुसार अमेरिकामा अहिलेका काममध्ये ४७ प्रतिशतले भविष्यमा निरन्तरता पाउने सम्भावना छैन । प्रविधी सँग सामञ्जस्य भएन भने आजको ज्ञान तथा सीप केही वर्ष पछी काम नलाग्न सक्ने खतरा बढेको र हाइब्रीड कामको जमाना आएकोले अवको भविष्य भनेकै सूचना प्रविधी बनेको छ ।

नेपालमै बसी विदेसी मुद्रा कमाउन सकिने

सूचना प्रविधी सम्बधी कति काम विदेशी कम्पनीलाई पनि दिइरहेको हुन्छ । विदेशी कम्पनीहरूलाई काम दिंदा नेपाली इन्जिनियरहरूलाई अनिवार्यरूपमा काम गराउनु पर्ने प्रावधान राखेमा थप रोजगारी सिर्जना हुने देखिन्छ । सूचना र संचारका प्रविधिको काम विश्वको कुनै स्थानमा बसेर गर्न सकिन्छ । नेपालमै बसेर संसारभरको काम नेपालमै गर्न सकिन्छ । नेपाल जस्तो श्रम सस्तो भएको देशले आउट सोर्सिङवाट नेपालमै बसी विदेसी मुद्रा कमाउन सकिन्छ ।

(लेखक काठमाडौं इन्जिनियरिङ कलेजका एसोसियट प्रोफेसर तथा कम्प्युटर इन्जिनियर हुनुहुन्छ)


प्रकाशित | ६ भाद्र २०७६, शुक्रबार १३:०१