राजु खप्तडी बस्नेत
सरामती नागाल्याण्डको एउटा अग्लो चुचुरो हो। अहिले बुझ्दा र खोजबिन गरेर हेर्दा नेपालको हिमालय जस्तो पक्कै हैन। हो यसैको नाममा त्यो स्कुलको नामाकरण गरिएको रैछ। सरामती भ्यु मोर्डन इङ्गलिस स्कुल मैलै पढेको स्कुलको नाम हो। मैले त्यहाँ चार कक्षा सम्म पढ्ने अवसर प्राप्त गरें। सबै टिचरहरु केरलाका थिए। भनिन्थ्यो केरला ईन्डियाको एउटा मात्र स्टेट हो जो सय प्रतिशत साक्षरता दर छ। सायद त्यसैले होला त्यो क्षेत्रमा रहेका प्राय स्कुलहरुमा केरलाका टीचरहरु ब्यापक थिए। मलाई सम्झना भएका केही स्कुलहरुमा लोयला, हाई स्कुल ( जहाँ १५अगस्तमा टाउन भरीका सबै स्कुल जम्मा भएर रमाइलो हुन्थ्यो ) सरामती हुन। मलाई मिस रानी, मिस प्रशन्ना र मिस जोसीको सम्झना निकै गाढा छ। मेरो बाल्यकालको मिठो सम्झना अझै पनि छाती भित्र गहिरिएर बसेको छ।
बडो गजबको ठाउँ थियो किफ्री टाउन।अपर टाउन र डाउन टाउन गरेर किफ्रीलाई दुई भागमा नामाकरण गरिएको थियो।सबैभन्दा माथि चाहिँ आसाम राइफलको आर्मी क्याम्प थियो जहाँ नेपालीहरुको सङ्ख्या उल्लेखनीय थियो। नागाहरुमा पनि विभिन्न जातहरु छन।मेरो बाल स्मरणको औकातले भ्याएसम्म मैले सम्झेका जातहरुमा साम्ताङ, स्यामा,आउ, इम्चुङ आदि हुन। यिनीहरु टाउन एरिया बाहेक गाउँहरू सबै एकल जातीय गाउँहरु हुन्थे।जस्तो किफ्री भिलेज साम्ताङ जातीहरुको थियो ,पुङ्रो एरिया इम्चुङ जातीहरुको थियो, साट्टाका भन्ने ठाउँमा आउहरु थिए अनि स्यामाहरुको भिन्नै गाउँ थियो।प्रत्येक जातहरुको भिन्नै भाषा भए पनि नागामिस त्यहाँको सबैले बुझ्ने सञ्चार भाषा हो। मलाई याद छ बस्तीमा बसोबास गर्ने नागाहरु लेङ्टा नै हिँड्ने गर्थे।एउटा धारीलो हतियार जसको नाम दाउ यो हाम्रो खुकुरी जस्तै यिनीहरु भिरेर हिड्थे गर्दथे।पुरुषहरू आफ्नो लाज छोप्ने टालो मात्रै भिरेर हिड्थे तर नियालेर हेर्दा सबै छ्याङ् देखिन्थ्यो। नगिनीहरु चाहिँ म्याख्ला र च्यादर लगाएर हिड्ने गर्थे। यसरी हेर्दा नागाहरु त्यस क्षेत्रका आदिवासी र जनजातिको दुवै हुन।टाउन एरियाका नागाहरु निकै सभ्य र बिकासित भैसकेका थिए।
नागाहरु निकै सोझा र मानवियताले भरिपुर्ण थिए।आपत बिपत र सरसहयोगमा गाउँ नै एकजुट हुन्थे।बिशेष गरि चाडबाड र उत्सबहरुमा दिल खोलेर मनाउने र रमाइलो गर्ने गर्थे। हामी बाहिरकालाई पनि बोलाउने र एकदमै राम्रो आदर सत्कार दिने गर्दथेँ। कारण बस निम्तामा जान भ्याइएन भने पनि घरमै पुर्याउन आउने गर्दथे।कसैले जङ्गल तिर सिकार गरेर आए भने चरा देखि मृगको साँप्रा सम्म ल्याइदिन्थे।मलाई अचम्म लाग्छ बडो चाह गर्दथे हामीलाई। बजार तिर मुमा दिदीहरु संग घुम्न जाँदा मलाई खोसी खोसी नगिनीहरु बोकेर डुलाउथे।कसैले चक्लेट कसैले खेलौना थरी थरी किनिदिन्थे।म बच्चामा कस्तो थिएँ आफुलाई थाहा हुने कुरै भएन तर राजिब गान्धी जस्तै भनेर नागाहरुले भनेको याद छ।
एउटा रमाइलो कुरा के छ भने म स्कुल त्यती सजिलै जान मानेको हैन।स्कुल पुगे पछि दोस्रो पिरियड पछि १५ मै कहिले सु आयो भनेर कहिले अरु बाहानामा बाहिर निस्कन्थे र त्यतै त्यतै भागेर घर जान्थे।बेलुका झोला छिमेकका अरुले ल्याइ दिन्थे। यस्तो हर्कत निकै भाको रैछ।बुबा मुमासंग त रड्याई गरेरै र भइमा लडिबुडी गरेरै जित्ने।एकदमै पुल्पुलिएको बच्चा भाको थिएँ। सदा झै स्कुल गइयो ,सदा झै बहाना पनि गरियो र निस्कियो। तर अचानक त्यो दिन पानी ट्याङ्की पछाडि हेड टिचर सहित अरु टिचर पनि गौडो ढुकेर बसेका रैछन।म के पाइन्ट उचालेर भाग्नलाई दौडिन के आँटेको थिएँ,च्याप्पै समातिहाले।झ्यानाकुटी झ्याई परेर तोरीको फुल देखाए। म निकै रोएँ,आतिएं पनि।आमा बुबा दिदी सबै बोलाए।कोही आएनन। बेसाहारा म सिर्कना खाएर कक्षा भित्र हिकिक् हिकिक् गर्दै बसें।सेकेण्ड रेसेस्ट मा रानी मिसले क्यान्टिनमा फकाएर माया गरेर खाजा खुवाउनु भयो। अब देखि भाग्नु हुदैन है भन्नु भयो।बेलुका घर गएं र कपडा खोल्दा सुम्ला देखे पछि के भयो भनेर सोध्नुभयो। मैले भनिन सायद मलाई नभन्न भनेको हुनुपर्छ तर अन्तत्वगत्वा थाहा भइ नै हाल्यो र भोली पल्ट स्कुल हेड सर लगायत म्यानेजमेन्टले माफी मागेको भन्ने सुनेको थिएँ। तर अचम्म के भयो भने स्कुल जान आनाकानी गर्ने मान्छे म स्कुल जान आतुर भए ।मरो बालमनोविज्ञानमा के असर भयो म खुरु खुरु स्कुल जान लागे र भाग्न छोडेँ।
नागाल्याण्डलाई अहिले हेर्दा ट्रोपिकल टाइपको हावापानी रैछ भनेर बुझ्न सकिन्छ। जङ्गललै भरी पाकेका केरा ढलेका हुन्थे। मेवा घारी पहेलपुर हुन्थे। सुन्तला,ज्यामीर,भोगटे,बडहर जङ्गलमा असरल्ल हुन्थे।जङ्गल नै फलफुल नै फलफुलको थियो।आसेदु भन्ने एउटा बुट्टो हुन्थ्यो,त्यसको निलो रङ्गको फल लाग्थ्यो। यसको फल पनि खान मिल्थ्यो र डाँठ भित्रको गुदी पनि खान मिल्थ्यो। फेरी डाँठमा पुच्काले घार लाउने गर्थे। पुच्का मौरिकै एक जात हो तर अली सानो हुन्छ। म बाल्यकालमा पुच्काले घार लाएको आसेदुको हाँगा भाँचेर हातमा समाएर दौडन्थें। पुच्का सबै उडेर सबै भागि सकेपछि मह निकालेर खाइन्थ्यो। चराका बचेरा समाएर ल्याएर मुख बाएको बेला चामलका दाना हालेर उपद्रो पनि गरियो।गाइने किरा समाएर त्यसको पछाडिको टुप्पोमा दुबोको फुल घुसाएर हेलिकप्टर भन्दै उडाइयो।सम्झदा नी जिरिङ्ग हुन्छ।
यिनै बचपना,खेल र प्रकृति कै बिचमा बर्सौं देखि नागाल्याण्डमा एउटा अल्गाबादी लडाइँ पनि चलिरहेको थियो। इण्डियाबाट नागाल्याण्ड छुट्याएर अलग्गै राज्य बनाउने उद्देश्यकासाथ द्वन्द्व चलिरहेको थियो। कहिले आर्मीले कहिले जङ्गलीले सिध्याउने, मार्ने खेल चलिरहेको थियो। बिशेष गरी चुनावको बेलामा आर्मीका कान्वोइ रकेट लञ्चर र एम्बुसमा पारेर अन्डरग्राउन्डहरुले आसाम राइफलको निकै ज्यान लिएको समाचारले सधै डर त्रासको वातावरण भइरहन्थ्यो। रात परेपछि गोलिको आवाज र ब्रस्टलाईटले आकाशमा उडिरहेको दृष्य सामान्य तर भयमय हुदै गईरहेको थियो।
बस्तीमा कहिले फलानोको छोरी,कहिले फलानोको छोरो मरेको कुरा आईरहन्थ्यो। जङ्गलीहरु बर्माको छेउमा पुरै आर्मी जसरी क्याम्प बनाएर ट्रेनिङ गर्छन भन्थे। त्यसैले उनिहरुलाई जङ्गली आर्मी पनि भन्थे।नागाल्याण्डको बर्षा जङ्गल पुरै अनडरग्राउण्डहरुको घर थियो।उनिहरुलाई चाइनाले हतियारसहित ट्रेनिङ दिन्छ पनि भन्थे। आर्मी पनि ति क्षेत्रमा जान डराउथे।सरकारी कर्मचारीहरुको हत्या आम थियो।नागा नागामा पनि विभेद थियो। एकले अर्कोलाई सिध्याइ हाल्थे।यसरी हेर्दा जाती जाती बिचको अर्को लडाइँ पनि थियो।मेरो स्कुल जाने बाटोमा एउटा माइपक भन्नेको घर थियो।एक साँझ गोली चलेको आवाज सुनियो।भोलिपल्ट थाहा भयो आफ्नै छोरीले बाबुलाई अर्को पार्टीमा चुग्ली गरेको भनेर मारेको भन्ने खबर भोलीपल्ट सुनियो।कुन बेला के हुन्छ भन्ने टुङ्गो थिएन।अवस्था झन झन जटील बन्दै गइरहेको थियो।स्कुल लगायत ब्यापार ब्यावसाय सबै तिर प्रतिकुल असर हुदै थियो।बस्तिहरु खाली हुदै थिए।
घनघोर बर्षा भइरहेको थियो ,बादल पहाडहरु थर्काएर गर्जीरहेको थियो।हाम्रो यात्रा कुहिमा निस्किएर डिम्मापुर सम्मको थियो।चारैतिर विशाल जङ्गल वीचबाट घुमौरो सडक अनि सडकमा पातलो सवारी साधन गुडिरहेका थिए। हामी चडेको टाटाको ड्राइभर नेपाली नै थिए ,उनि पनि कुहिमा सम्म आउने खाली टाटा भएकोले हामी त्यसैमा आइरहेका थियौं।साँझ पाँच बजे तिर हामी हिडेका थियौं,किफ्री भिलेज कटे पछी पानी पर्न सुरु भयो।पुङ्रो रोड पुग्दा नपुग्दै बर्षा घनिभुत भयो साथै जङ्गल पनि सुरु भयो।त्यसैपनि नागाल्याण्डको बर्षा जङ्गल त्यस माथि मुसारचुहाको९ अन्डरग्राउड पार्टीको० डर।मेलौरीमा आए पछि टाटा साहु भेट भयो र उनले काठ लोड गरेर अरु टाटा सगै जाने जानकारी लागि ड्राइभरलाई दिए।यतिखेर पानी पनि रोकिएको थियो।
अब हामी पर्यौं आपतमा कता जानेरुके गर्नेरु।यसै बसिरहेका थियौं उता बाट एउटा फेन्डा लोड गरेको टाटा आयो।हामीले रोक्न र हामीलाई लैजान अनुरोध गर्यौँ। तर उसले लान मानेन। यसै गरी तिनवटा टाटा पास भए ,सिट भएर पनि कसैले लान मानेनन।जङ्गलको बिच छ,अघि सगै आएका टाटा पनि फेन्डा लोड गर्न गइ सके।हामी एक्लै भयौँ। पर बाट केही लस्कर मान्छेहरु हामी भए तिर आउँदै थिए। सायद जङ्गली होलान भन्ने डरले हामी बाटो मुनी झाडीमा लुक्यौ।बास्तबमा तिनिहरु जङ्गली नै रैछन ,भाग्ने र लुक्ने क्रममा हामी मध्यका एकजना झण्डै भिरबाट खसे त्यहाँबाट खसेको भए सिधै तल बगिरहेको नदीमा ।कसो कसो गरेर हामी निकै पर पुगेर रोडमा निस्कियौं।
परबाट हेडलाइट बालेर एउटा गाडी हामी तिरै आइरहेको देख्यौँ। हामी निकै डराएका थियौं। छेउमा आए पछि हामीले गाडी रोक्न इसारा गर्यौ।गाडी रोक्यो यसमा पनि बाइचान्स ड्राइभर र हेन्डीम्यान दुवै नेपाली नै रैछन।उनिहरु पनि हामी देखि डराएछन्। सबै वृतान्त बताए पछि हामीलाई लिएर टाटा हिड्यो। जङ्गलको तल जङ्की नदीको ९ब्रमापुत्रमा गएर मिसिन्छ० पुल क्रस गर्नु भन्दा अलि माथि आइपुगे पछि फेरि घनघोर पानी पर्यो। मुसलधारे पानीमा अगाडि केही मिटर भन्दा देखिँदैनथ्यो। पुल क्रस गरेर ठिक्क वारी पट्टी साइडमा तिन वटा ट्रक रोकीराखेको देखियो। हाम्रो टाटा सुस्तरी अघि बड्यो। अब बिस्तारै तप्काने उकालो चड्ने क्रममा थियो। अलि अलि पुर्व उज्यालो हुदै थियो। पर विपरित दिशाबाट एउटा जिप्सी आयो अनि छेउमा आएर हामीलाई रोक्न इसारा गर्यो।
उसले नागामिसमा भन्यो ूआप्नी लोग किनीका आसेरुभाल आसेरु।।।।।अगाडि उसले भन्यो तिमी हरु जोगिएछौ,भर्खरै त्यो पूलमा तिन वटा टाटा जङ्गलीले लुटे,ड्राइभर कुटेर धुलो बनाएका छन,सब थोक लुटेर लगे।ूहामी झसंग भयौँ। र सोच्यौ यदि हामी पनि ती अघिल्ला तिन वटा टाटा मध्ये कुनैमा लिफ्ट पाएर आएका हुन्थ्यौँ भने लुटिन्थ्यौ,कूटिन्थ्यौ सायद मारिन्थ्यौ।भगवानले जोगाएछन।हामी आउदा पनि यदि घनघोर मुसलधारे पानी केही समय अघि पर्दैनथ्यो भने पनि हामी जङ्गलीको मुखमा पर्थ्यौ र माटो पनि खाइ सक्थ्यौं।
उज्यालो हुदै गयो। रोड भरी कागहरु थिए।जति गाडी अगाडि बढ्थ्यो कागहरु उडेर बाटो खाली गर्दै गए।एवं रुपले घाम झुल्किदा सम्म कुहिमा आइपुग्यौं। एउटा भारी मन र तन लिएर त्यपछि बसबाट डिमापुर आइयो।सुन्छु अब त शान्ति छ। जय होस जिन्दगी
प्रकाशित | २० असार २०७७, शनिबार १२:१८