नेकपाका दुई अध्यक्ष बीचको वार्ता सकियो, शर्मा र पौडेल पनि सहभागी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको दुई घन्टा लामो भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले बिहान साढे ११ बजेबाट शुरु भएको वार्ता सकिएको बताउनुभयो । वार्ता सकिए पनि वार्तामा भएको छलफल र निस्कर्षबारे जानकारी गराइएको छैन ।

वार्तामा अध्यक्षद्वयसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको थियो । स्रोतका अनुसार वार्ता सकारात्मक रहेपनि निर्णायक मोडमा नपुगेकोले अर्को चरणमा बस्ने गरी टुंगिएको छ ।

शनिबार बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक आव्हान गरिएको छ । सोअघि सहमतिमा पुग्नैपर्ने दबाव अध्यक्षहरूलाई छ । त्यस्तै, शुक्रबार बिहानदेखि दोस्रो पुस्ताका नेताहरूको पनि सक्रियता बढेको छ । नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका छन् ।

उता नेकपालाई जोगाउन नेताहरूले केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिइरहेका छन् । रामकुमारी झाक्री, ठाकुर गैरे, दीपशिखा, हिमाल शर्मालगायतका नेताहरूले पार्टीलाई जोगाउनका लागि केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् । पार्टीभित्र बढेका तिक्तता छलफलबाट नै समाधान गर्न दबाब दिने उद्देश्यले धर्ना सुरु गरेका हुन् ।

धर्नामा बसेकाहरूले पार्टीभित्र चर्किएको अन्तरद्वन्द्व बैठक र छलफलबाटै समाधान गर्नुपर्ने, पार्टीको विधि र प्रक्रियाबाट समाधान निकाल्नुपर्नेलगायतका माग गरेका छन् । त्यस्तै, प्रधानमन्त्रीको राजीनामा मागीएको भन्दै विभिन्न जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शनमा पनि भइरहेको छ ।


प्रकाशित | १९ असार २०७७, शुक्रबार १५:४५