फेसबुकको ‘प्रेमले लियो ज्यान : अनुसन्धानमा प्रहरी

काठमाडौं : राजधानीको हाँडीगाउँमा गत आइतबार बिहान भएको एउटा घटनाको अनुसन्धान पेचिलो बनेको छ। छिमेकीलेसमेत कहिल्यै नदेखेका मिनप्रसाद श्रेष्ठको मृत्युको अनुसन्धान पेचिलो बनेको हो । अनुसन्धान भवितव्य मृत्यु भएकोतर्फ केन्द्रित भए पनि उनका आफन्तले हत्या भएको भन्दै उजुरी दिने तयारी गरेपछि घटना पेचिलो बनेको हो ।

रामेछापका श्रेष्ठ हाँडीगाउँमै बस्दै आएका थिए। भर्खरै विवाह गरेका उनी कान्छीमाया (नाम परिवर्तन) सँगको प्रेम सम्बन्धमा थिए। इजरायलमा लामो समय काम गरेकी कान्छी र श्रेष्ठको फेसबुकमा गफगाफपछि पटकपटक भेट भइसकेको थियो। फेसबुकको गफगाफपछि उनीहरु प्रेममा थिए । वर्षमा एक पटक बिदामा नेपाल आउने गरेकी कान्छीमाया र श्रेष्ठ नयाँ वर्षको अघिल्लो दिन नयाँ बसपार्कमै दोहोरी रेष्टुरेन्टमा पुगेका थिए।

मस्त मदिरा पिएपछि उनीहरु आ–आफ्नै डेरातर्फ लागे। मध्यरातमा घर पुगेकी कान्छीमायालाई एकाएक श्रेष्ठले फोन गर्छन्। तर, फोन रिसिभ कान्छीमायाका श्रीमानले गर्छन्। श्रीमानले फोन उठाएपछि कुरा हुँदैन। शंका लागेपछि कान्छीमायालाई श्रीमानले पुन फोन गर्न भन्छन्। फोन नउठेपछि ‘कसले गरेको हो थाहा छैन’ भनेर दुवै सुत्छन्।

एकाएक बिहान साढे तीन बजेतिर ढोकामा आवाज आएपछि कान्छीमायाका श्रीमान बाहिर निस्कन्छन्। चौथो तलामा छोरी सुतेकाले डरले कान्छीमायाको श्रीमान छतसम्मै पुग्छन्। तर, कोही नदेखेर पुन आएर सुत्छन्। एकाएक श्रेष्ठको शव घरको कम्पाउण्ड रेलिङमा छेडिएको अवस्थामा देखिन्छ। शव देखिएपछि स्थानीय जम्मा हुन्छन्। कसैले चिन्दैनन्। ‘चोर्न आएको होला डरले हाम फालेर मर्‍यो’, भनेर केहीले अड्कलबाजी पनि गर्छन्।

कान्छीमाया कोठामा सुतेकी हुन्छिन्। बसपार्कको दोहोरीमा कान्छीमाया आफ्नी साथीसँग पनि गएकी थिइन्। ति साथीले नै श्रेष्ठलाई शनिबार राति दोहोरीमा देखेको बताउँछिन्। कान्छीमाया कोलाहल सुनेपछि श्रीमानको आग्रहमा बाहिर निस्किन्छिन्। उनले ठम्याउँछिन्। केहीले कान्छीमाया र श्रेष्ठबीच सम्बन्ध रहेको पनि खुलाउँछन्।

प्रहरीले अनुसन्धानको लागि कान्छीमाया र उनका श्रीमानलाई पक्राउ गरेर अनुसन्धान सुरु गर्छ। प्रहरीले अनुसन्धानमा श्रेष्ठले आत्महत्या गरेको नै प्रारम्भिक पुष्टि गर्छ।  कान्छीमायाका श्रीमान शारीरिक रुपमा असक्त छन्। उनी ५० वर्ष भइसके। श्रेष्ठ ३५ वर्षका हुन्। अहिले श्रेष्ठको भवितव्य ज्यान नगई कान्छीमायाको परिवारले हत्या गरेको भन्दै प्रहरीमा उजुरी दिने तयारीमा छन्।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह श्रेष्ठको मृत्यु भवितव्य रुपमै देखिएको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘कान्छीमायाको घरमा पुगेका श्रेष्ठले एक्कासी मान्छे देखेपछि भाग्न खोज्दा घटना भएको हाम्रो प्रारम्भिक अनुसन्धानले बताउँछ। थप अनुसन्धान गर्दैछौं।’ यो समाचार आजको अन्नपूर्ण पोस्टमा सुवास गोतामेले लेख्नुभएको छ ।

प्रहरीले कान्छीमाया र उनका श्रीमानले ढाँटेको आशंकामा पोलिग्राफसमेत परीक्षण गरेको छ। ‘हामीले कान्छीमाया दम्पत्तिको पोलिग्राफसमेत गर्‍यौं। तर, उनीहरुले झुटो नबोलेको पुष्टि गर्‍यो। अझै पनि अनुसन्धानमै छौं।’


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १०:२७