दीपकराजको सुझाव – तयार भएर मात्र अन्तर्वार्ता दिऔं, आफ्नो व्यक्तित्व आधा घण्टाको अन्तर्वार्तामा स्वाहा नपारौं

काठमाडौँ : कलाकार दीपकराज गिरीले पछिल्लो समय अन्तर्वातामा दिएको अभिव्यक्तिले विवादित र ट्रोलको शिकार बनेका कालाकारहरूलाई अन्तर्वार्तादेखि होसियार रहन सुझाव दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत सुझाव दिदै भन्नुभएको छ, ’कोही सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए । कोही नेपोटिज्मका बारेमा । कोही केमा कोहि केमा ।’ उहाँले यो सबै कलाकारहरुले मिडियालाई ‘नाई’ भन्न नसक्ने बानीले विवादमा आएको बताउनुभएको छ ।

कलाकार दीपकले लेख्नुभएको छ,’पत्रकार भाइले फोन गर्‍यो ‘लौ इन्टर्भ्यू दिन पर्‍यो’ भन्यो, क्यामाराको ढक्कन खोल्यो र सुरू भैहाल्यो – टेडा मेडा प्रश्नको झटारो। हामी कलाकार बीना तयारी पत्रकार रिसाउँलान् भनेर बोल्न सुरू गर्छौ, जसो जसो अन्तर्वार्ता अगाडि बढ्छ, हामी कलाकारको जिब्रो चिप्लिन थाल्छ । व्यवसायिक पत्रकार मनमनै खुशी हुन थाल्छ । आहा, ओहो, टिआरपी ।’

पत्रकारले ‘मुस्ताङ कुन जिल्लामा पर्छ था छ ? कलाकारले एकछिन टाउको कनाउँदै जवाफ दिन्छ, ‘मनाङ जिल्ला होला’ हाहाहाहा लामो हॉसो पनि जान्छ । कलाकार र पत्रकारबीचको अन्तर्वाता शाखा अधिकृतको जागिरको लागि लिइएको स्तो हुन थाल्छ, कलाकार चुपचाप नजानेको बिषयमा बोल्दै जान्छ । अन्त्यमा, आज त गज्जब भो अन्तर्वाता भोलि हेर्नुस है भन्दै पत्रकार खुशी साथ बिदा हुन्छ ‘ भोलि अन्तर्वाता आउँदैन, अन्तर्वाता संगसंगै आपत आइलाग्छ, जताततै भाइरल, विरोध, गालीको वर्षा ।

उहाँले नजानेको विषयमा ‘हामी किन बोल्छौँ ?’ भनेर पनि प्रश्न गर्नुभएको छ। कलाकारलाई अन्तर्वाताका लागि ‘सेलेक्टिभ’ हुन पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले सबै पत्रकारको नियत राम्रो नहुने पनि बताउनुभएको छ । भन्नुभएको छ, ’ ७० प्रतिशत टिआरपी र हेडलाइनका चक्करमा हुन्छन्, सबै पत्रकारको नियत राम्रो हुँदैन।’

उहाँले एउटा विषयमा अन्तर्वार्ता लिन बोलाएर पछि कलाकारको ज्ञानको दायरा नाप्न खोज्ने पत्रकारको क्षमतामाथि पनि प्रश्न गर्नुभएको छ । त्यस्ता पत्रकारहरुका लागि २४ घण्टा उपलब्ध भइदिनु, प्रचारको नाममा पत्रकारसँग सीमा नराख्नु, सस्तो बनिदिनु कलाकारको कमजोरी भएको बताउनुभएको छ ।

दीपकराज गिरीले कलाकारलाई अन्तर्वाताका लागि प्रस्ताव आउँदा होसियार रहन र सकेसम्म टार्न सल्लाह पनि दिनुभयो । ‘टार्न नसके पत्रकारसँग आवश्‍यक छलफल गरौं । तयार भएर मात्र अन्तर्वाता दिऔं । आफ्नो व्यक्तित्व आधा घण्टाको अन्तर्वातामा स्वाहा नपारौं,’ दिपकराज गिरीको सुझाव छ ।


प्रकाशित | १७ असार २०७७, बुधबार १७:०६