सलह किरा दोलखासहित २५ भन्दा धेरै जिल्लामा पुग्यो

काठमाण्डौ : सलह किरा काठमाण्डौ उपत्यकासहित देशका २५ भन्दा धेरै जिल्लाहरुमा पुगेको छ । काठमाण्डौमा प्रवेश गरेको सलह किरा उपत्यकाका तीन वटै जिल्लामा पुगेको हो । सलहको विश्लेषण गरिरहेको प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईँका अनुसार बाराबाट नेपाल प्रवेश गरेको सलह मकवानपुर हुँदै काठमाण्डौ आइपुगेको हो ।

गएको शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा विभिन्न समूहमा छुट्टिएर २५ भन्दा धेरै जिल्लामा पुगिसकेको हुमागाईँले बताउनुभयो । बाराबाट नेपाल छिरेको सलहसँगै रुपन्देहीमा हिजो अर्को समूह पनि आएको थियो । सलह किराले दोलखा, स्याङ्जालगायतका जिल्लामा मकै तथा तरकारीलगायतका बालीमा क्षति पुर्‍याएको किसानहरुले बताएका छन् ।

यसैबीच प्युठानको झिम्रुक गाउँपालिकामा स्थानीयले झ्याली बाजा बजाएर सलह किरा लखेटेका छन् । अर्को गाउँबाट सलह आउँदै गरेको थाहा पाएपछि झिमरुक गाउँपालिका २ मुलपानीमा गाउँलेहरु भेला भएर बाजा तथा आवाज आउने वस्तु बजाएर तथा आगो बालेर सलहलाई बस्न नदिइकन भगाएको स्थानीयले बताएका छन् ।

विभिन्न जिल्लामा छरिएको सलह किराको समूहमा कतै केही हजार र कतै लाखौँको सङ्ख्यामा रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । विषादी प्रयोग गरेर र किसानहरुले धुँवा आउने वस्तु बालेर, ड्रम बजाएर यसलाई भगाउन सक्ने केन्द्रले जनाएको छ । सलह किरालाई बिहानको समयमा विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ ।


प्रकाशित | १६ असार २०७७, मंगलवार २०:५९