नेपालमा १२ लाख हेक्टरमा कफी उत्पादन सम्भव

काठमाडौं : नेपालमा ११ लाख ९८ हजार ५ सय ३५ हेक्टरमा कफी उत्पादनको सम्भावना रहेको एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको सर्वेक्षणले मुलुकभरमा कैलाली जिल्लाको छुरे गाउँपालिकामा कफी उत्पादनको उच्च सम्भावना देखिएको छ । विभिन्न निकायको सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षणले ६१ हजार २ सय २८ हेक्टरमा उच्च सम्भावना रहेको देखाएको छ । त्यसैगरी सम्भाव्य क्षेत्रमा ४ लाख २ हजार ६४६ हेक्टर र मध्यमखाले सम्भावना रहेको क्षेत्रमा ७ लाख ३४ हजार ६६१ रहेको प्रतिवदेनमा उल्लेख छ ।

प्रतिवेदनले उत्कृष्ट १० गाउँपालिकामध्ये एक नम्बर सम्भावना रहेको छुरे गाउँपालिकाको १ हजार ६ सय २६ हेक्टर क्षेत्रमा कफी उत्पादनको सम्भावना रहेको देखाएको हो । प्रतिवेदनले कफी खेतीको सुरुवात मानिएको गुल्मीका दुई गाउँपालिका धुर्कोटमा १ हजार ८२ हेक्टर र मदानेमा १ हजार ७७ हेक्टरसहित पाँचौ र छैटौं उत्कृष्ट गाउँपालिकाको रूपमा चित्रण गरिएको छ ।

प्रतिवेदनअनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको १ हजार २ सय २८ हेक्टरसहित नेपालकै दोस्रो सम्भाव्य क्षेत्र रहेको छ भने तेस्रोमा ललितपुरको गोदावरी नगरपालिका र चौथोमा पनि १ हजार १२१ हेक्टरसहित सिन्धुपाल्चोककै मेलम्चीगढी नगरपालिका परेको छ । यो समाचार आजको कारोबार दैनिकमा किरण आचार्यले लेख्नुभएको छ ।

सातौ स्थानमा एक हजार हेक्टरभन्दा बढी उत्पादन रहेका बाग्लुङको बाग्लुङ गाउँपालिका र आठौंमा बैतडीको डोगाडकेडार गाउँपालिका छन् भने नवौंमा ९२५ हेक्टरसहित काठमाडौंको चन्द्रागिरि नगारपालिका र दशौंमा दोलखाको मेलुङ गाउँपालिका परेको छ । क्षेत्रको अपस्थिति, समुद्र सतहदेखि उचाइ र कफीको लागि आवश्यक वातावरणका आधारमा अध्ययन गरिएको बोर्डले जनाएको छ ।

नेपालका ४१ मध्य पहाडी जिल्लाहरूमा समुद्री सतहदेखि ८ सय देखि १६ मिटरको उचाइमा कफी खेती गरिँदै आइएको छ । जसमध्ये २१ जिल्लामा व्यावसायीक कफी उत्पादन भइरहको पाइएको छ । अरेबिका जातको बाहुल्यता रहेका नेपाली कफी प्रांगारिक रूपमा उत्पादन हुदै आएका छन् । बर्सेनि कफीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको कफी रिभ्यु डट कमले सन् २०१७ मा गरेको अध्ययनमा नेपालको कफीले ९० अंक प्राप्त गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । नेपाल व्यापार एकीकृत रणनीति २०१६ अन्तर्गत निर्यातयोग्य उपजको सूचीमा रहेको कफीको प्रवद्र्धनका लागि सरकारले वर्षेनी कार्यक्रमहरू ल्याए पनि न्यून लगानी हुँदा स्वेदशी बजारमै अपुग छ भने विदेशको माग पनि धान्न सकिरहेको छैन । नेपालमा कफीको उत्पादन मागको करिब ८ प्रतिशत मात्र रहेको देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा वार्षिक ७ देखि ८ सय मेट्रिक टन भएको तर उत्पादन भने गत वर्ष ५ सय १३ मेटन मात्र छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष ९ करोड ३७ लाख २५ हजार मूल्य बराबरको ८४ टन कफी निर्यात भएको थियो भने ६ करोड ५८ लाख मूल्य बराबरको १६३ टन कफी आयात भएको छ । नेपालबाट डेढ दर्जन मुलुकमा निर्यात हुदै आएको छ ।

जापान, जर्मनी, कोरिया, स्वीट्जरल्याण्डलगायतका मुलुकमा नेपाली कफी निर्यात हुने गरेका छन् । ताइवान, क्यानडा, बेलायत, अस्ट्रेलिया, युएइ, मलेसिया, डेनमार्क, न्यूजिल्याण्ड, भारतलगायत विश्वका थप मुलुकहरूमा पनि थोरै मात्रामा भए पनि कफी निर्यात भइरहेको र माग पनि बढ्दो क्रममा रहेको छ । कफी प्रवद्र्धनका लागि बोर्डले सोमबार र मंगलबार राजधानीमा दुई दिने कफी प्रवद्र्धन सम्मेलन सम्पन्न गरेको छ ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार ०९:२८