नेकपा स्थायी कमिटी बैठक बस्दै: मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको जारी बैठकले सरकारलाई काम गर्न सजिलो बनाउँदै मुलुकका लागि ठोस एवं दूरगामी निर्णय लिने अपेक्षा गरिएको छ ।

स्थायी कमिटी बैठकको मुख्य कार्यसूचीमै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), सीमा विवाद, नागरिकता विधेयक, कोरोना भाइरस कोभिड–१९ रहेकाले बैठकले लिने निर्णय दूरगामी र महत्वपूर्ण हुने अनुमान राजनीतिक वृत्तमा गरिएको छ । बैठकपछि सरकारलाई काम गर्न अझ सजिलो हुुने विश्वास पनि गरिएको छ ।

स्थायी कमिटी बैठकमा प्रस्तुत कार्यसूची कसरी अगाडि बढाउने भन्ने विषयमा बिहीबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रस्तुत हुने विषयवस्तुबारे दुई अध्यक्षबीच छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

नेकपामा सबैभन्दा विवादित भनिएको विषय एमसीसी रहेको विश्लेषण गरिएको छ । स्थायी कमिटीमा यी विषयमा सर्वसम्मत निर्णय गर्न सके बैठकलाई ऐतिहासिक मान्न सकिने राजनीतिक विश्लेषक हरि रोक्काले बताए । यसअघि पार्टीका केन्द्रीय समिति र स्थायी कमिटी बैठक बसे पनि महत्वपूर्ण निर्णय हुन नसकेकाले यस पटकको बैठकबाट ठोस निर्णय आउने रोक्काको ठम्याइ छ । पार्टीले सावधानीपूर्वक निर्णय लिनुपर्ने सुझाव दिँदै उहाँले आफ्ना दुई छिमेकी राष्ट्रलाई चिढ्याउने गरी कुनै निर्णय लिन नहुने बताए ।

अधिवक्ता टीकाराम भट्टराईले जहिले पनि पार्टी र सरकार बीचको अन्तरसम्बन्धलाई लिएर पार्टीभित्र विवाद देखिएको हुनाले यसबारे एउटा निर्देशिका नै बनाउनुपर्ने सुझाव दिए । दुवै अध्यक्षले एकअर्कालाई सहयोग गर्ने वातावरण बन्नुपर्ने र सरकारलाई काम गर्न सहज वातावरण बनाइनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारले सहयोग गरेन भनी गुनासो गरेका छन् भने अध्यक्ष प्रचण्डले सरकारले राम्रोसँग काम नगरेको गुनासो गरे । पार्टीले सरकारलाई के कुरामा सुझाव दिने ? केमा नदिने भनी एउटा निर्देशिका बनाएपछि यसको समाधान हुने सुझाव उनले दिए ।

यद्यपि देशको महत्वपूर्ण विषय तथा राष्ट्रियताको विषयमा पार्टीले गरेको निर्णय अनुसार अगाडि बढ्नुपर्ने बताउँदै उनले पार्टीको सङ्क्रमणकाल धेरै लामो हुँदा यस्तो अवस्था आएकाले यसलाई चाँडो टुङ्गो लगाउनुपर्ने बताए । स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्यले विगतको बैठकभन्दा यो बैठक फरक भएकाले यसमाथि निकै आशा गरिएको बताए । उनले नेताहरूको निरन्तर दबाबका कारण यो बैठक बसेको हो र अहिलेको कार्यसूची पनि महत्वपूर्ण भएकाले पार्टी सौहार्द रूपमा निर्णयमा पुग्नुपर्ने बताउनुभयो । स्थायी कमिटीका अर्का सदस्य देवेन्द्र पौडेल यो बैठकबाट निकै आशावादी छन् । नेताहरूको लामो गृहकार्यपछि यो बैठक बसेकाले कार्यान्वयनमै जाने गरी छलफल हुने सबैले विश्वास लिएको उनले बताए ।

बिहीवार पनि नेताले बैठकमा प्रस्तुत कार्यसूचीबारे छलफल गरेकाले बैठक फलदायी हुने आशा गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान ११ बजेदेखि स्थायी कमिटीको बैठक बस्नेछ ।


प्रकाशित | १२ असार २०७७, शुक्रबार ११:०९