पोखरा महानगरको बजेट छ अर्ब १९ करोड ७१ लाख ७८ हजार सार्वजनीक

पोखरा : पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का बजेट सार्वजनिक गरेको छ । पोखरा सभागृहमा आयोजित सातौँ नगर सभामा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले छ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपियाँ अनुमानित बजेट प्रस्ताव गर्नुभएको हो ।

जसमध्ये सङ्घीय सरकारबाट दुई अर्ब ५२ करोड ६० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारबाट १० करोड ५९ लाख ६६ हजार रुपियाँ गरी जम्मा अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत दुई अर्ब ६३ करोड १९ लाख ६६ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको उहाँले बताउनुभयो । अन्तर सरकारी अख्तियारबाट ८५ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

राजश्व बाँडफाडँतर्फ सङ्घीय सरकारबाट ३० करोड ६४ लाख रुपियाँ र प्रदेश सरकारबाट चार करोड ३७ लाख रुपियाँ गरी जम्मा ३५ करोड एक लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । त्यस्तै, आन्तरिक स्रोतबाट दुई अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ । बजेटको लक्षित उद्देश्यमा कोभिड(१९ ले उत्पन्न गरेको परिस्थितिलाई सम्बोधन गर्ने भनिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त अख्तियारीसमेत कुल प्रस्तावित बजेट छ अर्ब १९ करोड ७१ लाख ७८ हजार रुपियाँमध्ये चालु खर्चतर्फ तीन अर्ब २० करोड ८४ लाख र पुँजीगत खर्चतर्फ दुई अर्ब ९८ करोड ८८ लाख रुपियाँ छ भने उक्त बजेटमध्ये प्रशासनिक खर्चमा एक अर्ब ५८ करोड चार लाख रुपियाँ र कार्यक्रम खर्चतर्फ चार अर्ब ६१ करोड ६८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

यो विनियोजन चालु खर्चतर्फ ५२ प्रतिशत र पुँजीगततर्फ ४८ प्रतिशत हुन आउँछ भने प्रशासिनक तथा सञ्चालनतर्फ २६ प्रतिशत र कार्यक्रमतर्फ ७४ प्रतिशत हुन आउँछ ।


प्रकाशित | ११ असार २०७७, बिहीबार ०७:२२