कोरोना ल्याब हाँकिरहेकी एक गुमनाम चेली

डा मिलन अधिकारी

विश्वव्यापी माहामारीको रुपमा कोरोना संक्रमण फैलिँदै गर्दा नेपाल सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन घोषणा गर्‍यो। संक्रमणको सुरुवाती चरणमै देशव्यापी त्रास र अन्योलबीच भरतपुर अस्पताल र भरतपुर महानगरपालिकाको सहकार्यमा देशमै पहिलो कोरोना अस्थायी अस्पताल सञ्चालनमा आयो। अस्पताल सञ्चालनमा आएपछि थुप्रै व्यवस्थापकीय कमी-कमजोरी भेटिए पनि यो कदमको अनुशरण गर्दै अहिले देशभर थुप्रै कोरोना अस्थायी अस्पताल सञ्चालनमा छन्।  

कोरोना अस्थायी अस्पताल सञ्चालनको सुरुवाती दिनमै ज्वरो आएर अस्पतालमा भर्ना भएका एक व्यक्तिको दुखद निधन भयो। लगत्तै भरतपुर अस्पतालकै आइसोलेसनमा पनि अर्की एक महिलाको निधन भयो। यी दुवै घटनामा निधनको कारण कोरोना संक्रमण होइन भन्ने निर्क्योल गर्न समय लाग्यो। स्वाब निकालेर काठमाडौँ पठाउनुपर्ने बाध्यताले गर्दा रिपोर्ट आउन ढिलो भयो अनि बोध भयो, स्वाब परीक्षण गर्ने ल्याब चितवनमै आवश्यक छ।

विभिन्न निकायको प्रयास र समन्वयले राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी कोरोना ल्याबको स्थापना गरियो। २०७६/१२/२४ देखि कोरोना परीक्षण सुरु भएको ल्याबमा बीचमा एक हप्ता किट सकिएको कारण बाहेक निरन्तर परीक्षण भइरहेको छ। त्यहि दिनदेखि यस प्रयोगशालाको कमाण्ड सम्हालेकी छिन्, भरतपुर अस्पतालमा कार्यरत कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डाक्टर नीतु अधिकारीले।

चितवनमै जन्मे-हुर्केर नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी माइक्रोबायोलोजी अध्ययन  गरेकी डा अधिकारी, विगत १ वर्षदेखि भरतपुर अस्पतालमा कार्यरत छिन्। 

चितवनमा कोरोना ल्याबको स्थापना भएर त्यहाँको प्रमुखको रुपमा काम गर्ने पत्र जब हातमा पर्‍यो, यिनको मन आत्तिएको जस्तो भो। भन्छिन्, ‘अलिअलि ओरियन्ट भएपछि पिसीआर टेस्ट गर्न सक्छु भन्ने त थियो, तर त्यो ल्याबको प्रमुख भएर काम गर्न सक्छु कि सक्दिनँ भन्ने द्विविधा थियो मनमा।’

आफू सरकारी सेवामा भर्खरै मात्र प्रवेश गरेको र व्यवस्थापकीय जिम्मेवारीमा कहिल्यै पनि नरहेको कारण प्रमुखको रुपमा कार्यसम्पादन गर्न सक्दिनँ कि भन्ने डर मनमा थियो। तैपनि मेशु डा श्रीराम तिवारी र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा भोजराज अधिकारीको साथ-समर्थन साथै परिवार तथा साथीभाइको हौसलाले सो जिम्मेवारी लिन प्रेरित भएको उनले बताइन्।  

डा नीतुलाई उनका बुबाले भन्नुभएको एउटा कुराले  सधैं ऊर्जा दिइरहन्छ।  डाक्टरी पास गरेर  हाउस अफिसरको रुपमा काम गर्न थालेपछि बुबाले एक दिन भन्नुभयो, ‘छोरी डाक्टरी पेसामा लाग्दै गर्दा सधैं बिरामीलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नु है, हामीभन्दा पनि माथि। तिम्रो कारण कुनै एक बिरामीलाई मात्र पनि सजिलो गराउन सक्यौ भने बल्ल पढाइ सार्थक हुन्छ।’ बुबाको त्यही भनाइलाई आत्मसात गर्दै विगत दुई महिनाभन्दा बढी समयदेखि खटिएकी छिन् यी चेली, चितवनको कोरोना परास्त गर्ने मोर्चामा।

कस्तो होला, के होला भन्ने अन्योलका बीच सुरु भएको यो ल्याब सुरुवाती दिनदेखि नै एउटा टिमको रुपमा सहज रुपमै सञ्चालन भइरहेको छ। सहजताको परिभाषा यिनको आफ्नै छ। यो विषम परिस्थितिमा जेजस्तो हुन सक्यो व्यवस्था, त्यसलाई नै सहज रुपमा ग्रहण गर्नपर्ने बताउँछिन् उनी। आफूसँग भएका सीमित साधन-स्रोतबीच काम गरेर पनि यो अवधिमा ५००० बढी टेस्ट गर्न सकेको छ यिनको टिमले। दक्ष प्राविधिकको टिम छ डा नीतुसँग।

भरतपुर अस्पताल, क्यान्सर अस्पताल र मेडिकल कलेजका टेक्नोलोजिस्टहरु खटिएका छन् यी चेलीसँग। सुरुवाती दिनमा स्याम्पल पनि कम आउने र धेरैजसो नेगेटिभ आउने गरेकाले सजिलै थियो यिनीहरुलाई काम गर्न। तर वैशाखको पहिलो हप्ता युकेबाट फर्किनु भएका आमाछोरामा टेस्ट पोजेटिभ आयो।  दोहोर्‍याएर टेस्ट गरे, फेरि पोजेटिभ आयो। रिपोर्ट प्रमाणित गर्न टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउँदा त्यहाँ पनि पोजेटिभ आयो। डा नीतु भन्छिन्, ‘पहिलो चोटी पोजेटिभ आएकाले हाम्रो टेस्ट ठिक छ नि भन्नलाई स्वाब टेकु पठाएका हौं, त्यसपश्चात् पठाउन परेको छैन।’

अरु कोरोना फ्रन्टलाइनर जस्तै यिनको दैनिकी पनि फेरिएको छ। कति घन्टा खट्न पर्छ भन्ने नै ठेगान हुँदैन। साधारण दिनमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्ने भनिए पनि कैयौं पटक आधा रातसम्म काम गरेका छन् यिनीहरुले। एकपटक त बिहान छर्लंग उज्यालो हुँदासम्म पनि काम गरेका छन्। आज कुन बार हो भन्ने पनि हेक्का हुँदैन कहिलेकाहीँ। खाने, शौचालय जाने भनेको त ल्याब छिर्नुअघि र एकै चोटी ल्याबबाट निस्केपछि हो। तैपनि यो विशेष परिस्थितिमा उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् यी फ्रन्टलाइनरहरु।

ल्याबको प्राविधिक काम बाहेक डा नीतुको खटाइ यसको व्यवस्थापकीय पाटोमा पनि छ। ल्याबमा काम गर्ने आफ्नो टिमका सदस्यहरुको बसोबासको व्यवस्थासँगै भरतपुर अस्पतालको स्टोरसम्म पनि आफैं कुद्छिन्। टेकुको केन्द्रीय प्रयोगशालासँगको समन्वयदेखि भरतपुर अस्पतालका पदाधिकारीहरुसँग, निरन्तर सम्वाद र छलफलमा रहन्छिन्। ल्याबको सीमित जनशक्तिलाई भयरहित अवस्थामा काम गर्ने वतावरण बनाउन यिनी तल्लिन छिन्।    

अहिलेसम्म यस ल्याबबाट ५४  जनाको रिपोर्ट पोजेटिभ आएको छ। कसैको रिपोर्ट पोजेटिभ आउँदा यिनको मन खिन्न हुन्छ। भन्छिन, ‘हामी यसरी खटिएको पोजेटिभ केस पत्ता लगाउनलाई नै हो।  तैपनि कसैको पनि आज पोजिटिभ नआइदिए हुन्थ्यो भन्दै दैनिकि सुरु गर्छौं।’

देशभर संक्रमितको संख्यामा वृद्धि भएसँगै परीक्षण गर्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।  त्यसैले गर्दा पनि यहाँ पनि ७००  वटा जति स्याम्पल होल्डमा रहेका छन्। सीमित जनशक्ति र सीमित साधन-स्रोतका बीच पनि दैनिकजसो करिब ३०० बढी टेस्ट गर्न सकिएको डा नीतु बताउँछिन्। उनले ल्याबको चाप कम गर्न पुल टेस्ट विधिबाट परीक्षण गरिएको बताइन्। ‘पूर्वाधार र जनशक्ति थप गर्न सके टेस्टको दायरा अझै विस्तार गर्न सकिन्थ्यो,’ उनी भन्छिन्।

भरतपुरमै माइती भए पनि यिनी यो कोरोना ल्याबमा खटिएको दिनदेखि बुबा-आमालाई भेट्न गएकी छैनन्।  ‘भित्र नगए पनि तल बाटोसम्म त आइज, तेरो मुख मात्र भए पनि हेर्छौं’ भन्नु हुँदा पनि जान भ्याएकी छैनन्। श्रीमान् क्यान्सर अस्पतालमै कार्यरत चिकित्सक भएका कारण त्यहीँ आवास पाउनुभएको छ।  जान त यिनी त्यहीँ जान्छिन् तर आफूलाई संक्रमण भएको भए श्रीमानलाई नसरोस् भनेर छुट्टै कोठामा बस्छिन्। अलि टाढै बसेर गफ गर्छिन्। शारीरिक र मानसिक रुपमा गलेका बेलामा श्रीमानका शब्दले ऊर्जा भर्ने काम गर्छ यिनलाई। अनि उही पुरानो जोस र जाँगरका साथ काममा होमिन्छिन्।

धेरै जसो फ्रन्टलाइनरले आफ्ना अनुभव राष्ट्रिय मिडियाहरुमा बाँडिरहनु भएको छ, विपतको बेला काम गर्नेले राष्ट्रिय पहिचान पनि बनाइरहनु भएको छ, तपाईं पनि मिडियामा आउनुपर्‍यो, लेख लेख्नूस्, अन्तर्वार्ता दिनूस् भनेर यिनलाई चिन्ने धेरै साथीहरुले भन्छन्।  तर यिनी नेपथ्यमै रहेर काम गर्न रमाउँछिन्। 

कुराको बिट मार्दै यी चितवनकी चेली भन्छिन्, ‘अहिले काम गर्ने बेलामा काम गरौँ। विशेष अवस्थामा पाएको यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकौं। कोरोना कहरसँग राष्ट्र नै लडिरहेको बेला आफ्नो तर्फबाट सकेको योगदान दिन सकौं, अन्तर्वार्ता त दिंदै गरौंला नि।’ स्रोत- स्वास्थ्य खवर


प्रकाशित | ८ असार २०७७, सोमबार १०:५७