बागमती

राजु खप्तडी बस्नेत

चञ्चल थियौ कञ्चन थियौ मैले भेटेकी बागमती
हृदय भित्र बग्छ्यौ अझै उही बेलाकी बाग्मती
तिम्रै भङ्गालोमा भङ्गालिएं,तिम्रै अंगालोमा अंगालिएं
तिम्रै जलमा डुबेर मेरा, कयौं बेहोसी सम्हालिए
तिमी त अचेल रुन्छ्यौ अरे अध्यरो भित्र एक्लै राती
हृदय भित्र बग्छ्यौ अझै, उही बेलाकी बाग्मती

तिमी त मिठो पानी थियौ, मेरो दिलकी रानी थियौ
के थाहा थियो र जिवन,आखिर तिमी नी सानी थियौ
आगो लाग्छ उदासी चल्छ सुनेर अचेल नौमती
हृदय भित्र बाग्छ्यौ अझै, उही बेलाकी बाग्मती

मुहान तिरको किनार थिएँ, बिर्सियौ की याद छ
वसन्तको त्यो भोर गयो ,अझै सरदको साँझ छ
दुनियाँमा खोला देखें कति,जिवनमा नदी तरें कति
हृदय भित्र बाग्छ्यौ अझै, तिमी नै मात्र बाग्मती

लेखक बस्नेत एनआरएनए फ्रान्सका सचिव हुनुहुन्छ ।


प्रकाशित | ७ असार २०७७, आईतवार १४:४९