मैले प्रतिरोधि क्षमता बढाउन आग्रह गरेको हुँ तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए : प्रधानमन्त्री

काठमाडौं : सामाजीक सञ्जालमा कोभिड १९ प्रतिरोधी क्षमता बढाउने विषयलाई मजाकमा उडाइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कोभिड १९ हुनबाट बच्न प्रतिरोधी क्षमता बढाउनुपर्ने र त्यसको लागि भान्सामा प्रयोग गर्दै आएको बेसार, अदुवा, मेथीजस्ता मसला प्रयोगमा जोड दिर्दै आउनुभएको थियो. । तर सो विषयलाई लिएर सामाजीक सञ्जालमा मजाकमा उडाइएपछि प्रधानमन्त्री ओलीले असन्तुष्ट ब्यक्त गर्नुभएको हो ।

‘शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै भन्नुभयो, ‘मैले शरीरको प्रतिरोधी क्षमता बढाउने सन्दर्भमा ती कुराहरु गरेको हुँ, तर कतिपय बुद्धिजीवीले बेसारको मजाक उडाए, कतिले मेथी, मरिच र कतिले अदुवाको मजाक उडाए । म उहाँहरुलाई सुझाव दिन चाहन्छु, पूर्वजका खोजहरुप्रति यसरी मजाक नउडाऊ । आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन् । यिनीहरुलाई अगाडि बढाऔँ ।’

‘भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गर्दछु ‘,प्रधानमन्त्री ओलीले थप्दै भन्नुभयो ।


प्रकाशित | ७ असार २०७७, आईतवार १२:३७