कृषि उत्पादन प्रवर्द्धन गर्न प्रदेश ३ सरकार र एनआरएनबीच सम्झौता

हेटौंडा : प्रदेश ३ भर उत्पादन भएका कृषि उपजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहयोग गर्ने भएको छ। कृषि उत्पादन विदेशबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाली गुणस्तरीय उत्पादन विश्वमा पुर्‍याउने उद्देश्यका साथ कामअघि बढेको हो। आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्नको लागि ३ नम्बर प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएसँगै प्रक्रिया अघि बढेको छ।

संघअन्तर्गतको कृषि प्रवर्द्धन समितिले मुना कृषि बजारको बृहत अवधारणा तयार गरी प्रदेश सरकारसँग सम्झौता गरेको हो। एनआरएनएको तर्फबाट कृषि समिति संयोजक युवराज गुरुङ र प्रदेश मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीबीच बुधबार मन्त्रालयमा एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

१५ बुँदामा समेटिएको समझदारीपत्रमा मन्त्रालय, एनआरएनए र निजी क्षेत्रको संलग्नतामा ७ सदस्यीय कार्यदल निर्माण गरी कार्यक्षेत्रगत सर्तहरू निर्माण गर्ने उल्लेख छ। सामाजिक उत्तरदायित्वसहितको नाफामूलक व्यवसाय ‘मुना आधुनिक कषि बजारलाई प्रदेश ३ सरकारले परियोजना छनौट गरी नीति तथा कार्यक्रममा समेट्ने पनि समझदारी पत्रमा उल्लेख छ।

कृषि उत्पादन, प्रशोधन, वितरण र खपतसम्मको दीर्घकालीन सोच राखेर अघि बढेकोमा कृषि मन्त्रालय, प्रदेश मन्त्रालय, स्थानीय संघ संस्था र सहकारीसँग सम्झौता गरी कृषि उत्पादन र बजारीकरण एकसाथ अघि बढाउने बताइएको छ। एनआरएनले विभिन्न विदेशी तथा स्वदेशी व्यक्ति तथा संस्थाबाट लगानी जुटाएर कृषि प्रशोधन केन्द्र, कृषि उपज संकलन केन्द्र तथा सहायक संकलन केन्द्र स्थापना गर्ने सोच बनाएको समिति संयोजक युवराज गुरुङले जानकारी दिनुभयो ।

परियोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदनको लागि प्रदेश सरकारले खर्च बेहोर्नेछ। गैरआवासीय नेपाली संघले विश्वका सदस्य राष्ट्रहरुलाई आह्वान गरी गैरआवासीय नेपालीका पुँजीलाई लगानी गर्ने, सीप, दक्षता र अनुभवको पनि उपयोग गरी अन्तर्राष्ट्रिय जगतमा सफल भएका कृषि अभ्यासलाई नेपाल भित्र्याउने लक्ष्य लिइएको छ।

सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढ्ने परियोजनाको लागि चाहिने आवश्यक संरचना निर्माण गर्न वा भाडामा लिन प्रदेश सरकारले सहयोग गर्ने समझदारी पनि भएको छ। कृषकहरूको गुणस्तरीय उत्पादनलाई उचित मूल्यमा खरिद गर्ने जिम्मा आधुनिक कृषि बजार ९मुना०ले लिनेछ। परियोजनाअन्तर्गत पहिलो चरणमा मुख्य प्रशोधन केन्द्रसहितको आधुनिक कृषि बजार काठमाडौं उपत्यकामा र सहायक कृषि बजार हेटौँडा, चितवन, सिन्धुली, धादिङ, नुवाकोट, रामेछाप र काभ्रेपलान्चोकमा स्थापना गर्ने पनि लक्ष्य लिइएको छ।थाहा खवरको सहयोगमा )


प्रकाशित | ११ बैशाख २०७६, बुधबार २०:३०