चालु आर्थिक वर्षको ८ महिना : रेमिट्यान्स २३.४ प्रतिशतले वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको ८ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ । गत फागुनसम्म रेमिट्यान्स आप्रवाह बढेर ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ४.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।
शोधानान्तर घाटा ५८ अर्ब ९९ करोड

चालु खाता घाटा विस्तार भई १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ५४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ८ महिनामा १ अर्ब ५१ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २४ अर्ब ७३ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनामा ५१ करोड ८१ लाखले घाटामा रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानी निरन्तर घट्दै गएको छ । चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक लगानी घटेर ६ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब २४ करोड रुपैयाँ रहेको थियो । क्यापीटल नेपाल


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १९:३४