पर्वत पहिरो अपडेट : पुरिएका मध्ये छ जनाको शव फेला, तीनको खोजी जारी

कुस्मा : पर्वतको कुश्मा नगरपालीका –३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका नौमध्ये छ जनाको शव भेटिएको छ भने अझै तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार पहिरोमा पुरिएकामध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको हो । घरभन्दा माथिवाट आएको पहिरोले दुई घर पुरिँदा गए राती दुई परिवारका नौ जना पुरिएका हुन् ।

प्रहरीका अनुसार थप तीन जनाको खोजी कार्य जारी राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीले पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजी कार्य जारी रहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी बल र स्थानीयवासीले उद्धारलाई जारी राखेका हुन् ।पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार १२:५६