पर्वत पहिरो अपडेट : पाँच जनाको शव भेटियो, चार अझै बेपत्ता

कुस्मा : पर्वतमा गए राती गएको पहिरोमा पुरिएका पाँच जनाको शव भेटिएको छ । पहिरोमा पुरिएका नौ जनामध्ये तीन जनाको राती र आइतबार बिहान दुई जनाको शव भेटिएको हो ।

पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा स्थानीय तुलबहादुर थापा र कमला विकको घर गए राती पहिरोले पुरिँदा नौ जना बेपत्ता भएका थिए । तुलबहादुर थापाको घरमा पुरिएका थापासहित नीलकुमारी थापा, दीपा थापा, विविशा थापा र कमला विकको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारीका अनुसार राती दुई बजेसम्म खोजी गर्दा तीन जनाको र बिहान थप दुई जनाको शव भेटिएको हो । अन्यको खोजी कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको टोली उद्धारमा खटिएको डिएपी अधिकारीले जानकारी दिनुभयो ।

स्थानीयका अनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको थियो । घरदेखि माथि ठूला ठूला बारी तथा समथर खरबारी रहे पनि पाहिरोले सबै बगाएको छ ।


प्रकाशित | ३२ जेष्ठ २०७७, आईतवार ११:०३