संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित

काठमाडौं: नेपालको संविधान (दोस्रो संसोधन) विधेयक- २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास भएको हो ।

संसद बैठकमा कुल २५८ सदस्य उपस्थित रहनु भएकोमा त्यसमध्ये २५८ सदस्यले संशोधनको पक्षमा मतदान गर्नुभयो । विपक्षमा कसैको पनि मत परेन । प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ प्रस्तुत गर्नुभएको थियो ।

संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा कुल सांसद २७५ रहेकोमा आजको संसद बैठकमा २५८ जना सांसद मात्र उपस्थित हुनुभएको थियो । संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ १८४ भए पुग्छ ।

सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

पारित गर्नुअघि विधेयकको विषयमा दफाबार छलफल भएको थियो । छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले नेपालीहरू राष्ट्रिय एकताका लागि जहाँ रहे पनि एक हुन्छन् भन्ने सन्देश प्रवाह गर्दै आएको बताउनभुयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक राष्ट्रिय विषयमा आम नेपाली, राजनीतिक दल तथा नागरिक समाज एक रहेको विगतको उदाहरण प्रस्तुत गर्दै राष्ट्रियतामा नेपालीहरू कोही पनि विचलित नहुने धारणा राख्नुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभयो । छलफलमा सांसदहरुले आआफनो धारण राख्नुभएको थियो ।


प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार १८:०५