बेलायतमा मृत्यु संख्या डेढ महिनाकै न्यून, लकडाउन खुकुलो पार्ने चरणबद्ध योजना सार्वजनिक

लण्डन :  बेलायतमा पछिल्लो २४ घण्टामा बेलायतभरमा थप २ सय ६९ मानिसको मृत्यु भएको छ ।  कोरोना संक्रमणबाट बेलायतमा एक दिनको अवधिमा भएका मृत्युको यो संख्या गत मार्च २९ यताकै सबैभन्दा न्यून हो । कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ ।

त्यस्तै,  बेलायतमा डेढ महिनाभन्दा लामो समयदेखि जारी लकडाउनको दोस्रो चरण घोषणा भएको छ । आइतबार साँझ एक विशेष सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले सरकारको आगामी मार्गचित्र सार्वजनिक गर्दै लकडाउन खुकुलो पार्दै जाने विभिन्न चरणका योजना समेत सुनाएका छन् ।

प्रधानमन्त्रीले घोषणा गरेअनुसार सबभन्दा पहिलो चरण आउँदो सातादेखि लागू हुनेछ । जसअन्तर्गत एकै घरका मानिसहरुलाई पार्कमा बस्ने र समयको कुनै पाबन्दी बिना घरबाहिर व्यायाम गर्नेका साथै सामाजिक दूरी कायम गर्दै गल्फ, टेनिस लगायत खेलमा सहभागी हुने, नदी तथा तालहरुमा पौडी खेल्ने लगायतका गतिविधिमा पनि छुट मिल्नेछ ।

साथै, यहि सातादेखि सरकारले घरबाटै काम गर्न असमर्थ मानिसहरुलाई आवश्यक सतर्कतासहित कार्यस्थलमा जान समेत आव्हान गरेको छ । काममा जाने क्रममा सकेसम्म सार्वजनिक यातायातभन्दा पैदल वा निजी सवारी प्रयोग गर्न प्रधानमन्त्रीले आव्हान गरेका छन् ।

दोस्रो चरणमा छिटोमा आउँदो जुनको शुरुदेखि प्राइमरी स्कुलहरु खुलाउने सरकारको योजना छ । त्यस्तै, सोहि समयदेखि बन्द पसलहरु पनि पुनः सञ्चालनमा ल्याउने आशा प्रधानमन्त्रीले गरेका छन् ।

लकडाउन खुकुलो पार्ने तेस्रो चरण छिटोमा जुलाईमा हुनेछ । जतिबेला ‘हस्पिटालिटी’ क्षेत्रका केहि निश्चित व्यवसाय र अन्य केहि सार्वजनिक स्थानहरु खुलाइने अपेक्षा छ ।


प्रकाशित | २९ बैशाख २०७७, सोमबार ०९:४२