सेभेन समिटको सहयोगमा सोलुखुम्बुको टापटिङमा बन्यो बर्थिङ सेन्टर

दुर्गममा बर्थिङ सेन्टर निर्माण गर्न पाउँदा गौरवान्भित महसुस भइरहेको छ: एसी शेर्पा

काठमाडौं: सेभेन समिट फाउन्डेशनको सहयोगमा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित टापटिङमा बर्थिङ सेन्टर निर्माण भएको छ । समिटको ४५ लाख सहयोगमा बर्थिङ सेन्टर निर्माण भएको हो ।

फाउन्डेसनले सोलुखुम्बुको वाङछु मेमोरियल अस्पताललाई एम्बुलेन्स खरिदको लागि १२ लाख सहयोग प्रदान गरेकोमा सरकारी निर्णयअनुसार गाउँपालिकामा एउटा मात्र एम्बुलेन्स खरिद गर्न पाउँने भएपछि सेभेन समिटिले यसअघिको रकम थपेर बर्थिङ सेन्टर निर्माण गरिदिएको हो ।

फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले दुर्गम क्षेत्रमा प्रसृति गृह निर्माण गर्न पाउँदा असाध्यै खुसी भएको र आफूलाई गौरवान्भित महसुस भइरहेको बताउनु भयो । अध्यक्ष शेर्पाले प्रस्तुति गृहको अभावमा महिलाहरु खेती पाती गर्दा गर्दै बच्चा जन्माउने र धेरैको पाठेघर खस्ने जस्ता समस्या देखिएकाले सहयोग गरिएको स्पष्ट पार्नु भयो ।

सेभेन समिट फाउन्डेशनले नेपालमा शिक्षा, स्वास्थ्यलगायत धेरै क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । फाउन्डेसनका अध्यक्ष शेर्पा अमेरिकाका लागि नेपाली महावाणिज्यदुत हुनुुहन्छ भने गैर आवासीय नेपाली संघका सल्लाहकार र टुरिजम टाक्स फोर्सको चियर समेत हुनुहुन्छ ।

अध्यक्ष शेर्पाले गैर आवासीय नेपाली संघको संस्थागत विकासमा समेत ठूलो योगदान पुर्याउनु भएको छ । उहाँले गैर आवासीय नेपाली संघको भवन निर्माण देखि लाप्राक नमूना बस्ती निर्माणमा समेत लाखौ सहयोग गर्नु भको छ । साथै सिन्धुपाल्चोक, चित्तवनदेखि नेपालका धेरै ठाउँमा उहाँले शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोग गर्नु भएको छ । त्यस्तै, हालै काठमाडौंमा सम्पन्न नेपाल ग्रीन हाइड्रोजन सम्मेलनमा समेत उहाँको सक्रिय सहभागिता थियो ।

त्यस्तै, सगरमाथा क्षेत्रको पहिलो सार्वजनिक-निजी साझेदारीमा वाङछु मेमोरियल अस्पतालको उद्घाटन समेत भएको छ । पर्वतारोही तथा समाजसेवी स्वर्गीय वोङ्छु शेर्पाको नाममा खोलीएको वोङ्छु शेर्पा मेमोरियल प्राइमरी अस्पताल ट्याप्टिङ गाउँमा एक कार्यक्रमबीच औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

हिमालयन योक्पु फाउन्डेसनका अध्यक्ष लाक्पा शेर्पाका अनुसार उक्त भव्य उद्घाटन समारोहमा नगरपालिकाका मेयर नामग्याल जाङ्बु शेर्पा, एभरेष्टका संस्थापक ईआर लुआन फ्रीर, वाइल्डरनेस मेडिकल सोसाइटीका पूर्व अध्यक्ष एरिक लुथर जोन्सन, मुसा मसालाका संस्थापक माइकल म्याकलाफ्लिन, डब्लुएमएसका संस्थापक डा. तत्काल भूतपूर्व राष्ट्रपति लिन्डा एलेन कीज र आगामी राष्ट्रपति डा जेनिफर एलिजाबेथ डाउ लगायतको सहभागिता थियो ।

त्यस्तै, अस्पताल परिसरमा उद्घाटन गरिएको प्रसूति गृहको सेभेन समिटिका अध्यक्ष एसी शेर्पासहितको टोलीले निरीक्षण गर्नु भएको छ । सो अवसरमा अध्यक्ष शेर्पालाई अस्पतालले भब्य स्वागत गर्दै सम्मान समेत गरेको छ ।

स्वर्गीय वोङ्छु शेर्पाकी छोरी लाक्पाले सामान्य उपचार नपाएर यहाँका धेरैले ज्यान गुमाउनु पर्ने र गर्भावस्थामा आमाले ज्यान त्याग्नु पर्ने अवस्था अब नआउने बताउनु भयो । ‘मेरो बुबा बाँचुन्जेल यस समाजलाई सुधार र रूपान्तरण गर्न कोसिस गर्नुभयो, सायद उहाँ यही वातावरणमा हुर्कनु भएकोले हो’, उहाँले थप्दै भन्नु भयो, ‘यो वार्डको ट्याप्टिङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरिएको छ र अहिले यो अद्भुत १५ शैयाको अस्पतालमा परिणत भएको छ।’


प्रकाशित | १ कार्तिक २०७९, मंगलवार १७:१०