प्रधानमन्त्रीले गरे भेरी-बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रू’

सुर्खेत : राष्ट्रिय गौरवको भेरी -बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रू’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आयोजनाको सुरुङ निर्माणको ‘ब्रेक थ्रू’ गरिएको हो । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो। सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो। सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो।

चिनियाँ प्रविधिसँगै भित्र्याइएको टीबीएम मेसिनले १९ महिना १२ दिन लगाएर सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेको आयोजना निर्देशक सञ्जीब बरालले जानकारी दिनुभयो। सुरुङको लम्बाइ १२ हजार २०० मिटर छ । चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले सुरुङ खन्ने काम सकेको छ ।

 वि.सं २०६८ सालबाट आयोजना औपचारिक रुपमा अघि बढेपछि राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राखेर निर्माण अघि बढाइएको थियो । २१ ओटा राष्ट्रिय गौरवका आयोजनामध्ये यो पहिलो र छिटो सम्पन्न भएको आयोजना पनि हो । वि।सं २०७४ कात्तिकदेखि टीबीएम मेसिनको प्रयोग गरी सुरुङ खनिँदै आएको थियो । आयोजनाको मुख्य काम सुरुङमार्ग आगामी २०७६ चैतसम्म सक्नुपर्ने लक्ष्य थियो । यो रिभर डाइभर्सनमा आधारित आयोजना भएकाले यसबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । स्वदेशी लगानीमा बनेको यो बहुउद्धेश्यीय परियोजना हो ।

आयोजनाबाट सिंचाईका अतिरिक्त बिजुली पनि उत्पादन गर्ने भएकाले रणनीतिक महत्व रहेको छ । भेरीको पानी बबईमा मिसाएर रिभर डाइभर्सन, टीबीएम मेशिनबाट सुरुङ खन्न सफल, निर्धारित समय भन्दा १ वर्षअघि सम्पन्न भएको र सिंचाईका अतिरिक्त जलविद्यत उत्पादन हुने भएकाले यो महत्वपूर्ण भएको छ । सरकारले यही परियोजनाको आधारमा कालिगण्डकी, सुनकोशीलगायत नदीमा डाइभर्सन परियोजनाको काम अघि बढाउने तयारी थालेको छ ।

यो आयोजनाले मुख्यगरी कृषियोग्य जमिनको सिँचाईसँगै जलविद्युत् उत्पादन गर्ने छ । बाँके र बर्दिया जिल्ला आसपासको झन्डै ५१ हजार हेक्टर कृषियोग्य जमिनमा सिँचाई सुविधा पु¥याउने यो आयोजनाको मुख्य उद्धेश्य हो । सुर्खेतकोे भेरीगंगा नगरपालिकास्थित चिप्लेमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ । सोही पानीबाट ४८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ । आयोजना प्रभावित क्षेत्रको आर्थिक र सामाजिक विकासका यो आयोजना कोशेढुंगा बन्ने अपेक्षा गरिएको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १५:०७