हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति

अमेरिकाले इन्डो–प्यासिफिक रणनीति कुनै मुलुकलाई तर्साउन नभई सहकार्य गर्न अघि बढाएको स्पष्ट पारेको छ । हिन्द र प्रशान्त महासागर आसपासका मुलुकसँग सहकार्य गर्न इन्डो–प्यासिफिक रणनीति तय भएको अमेरिकी भनाइ छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

अमेरिकाका अनुसार इन्डो भनेको भारतमात्र नभई समग्र हिन्द महासागर क्षेत्र हो । दक्षिण एसिया मामिला हेर्ने उपसहायक मन्त्री डेभिड जे रेन्जले भने, ‘हिन्द र प्रशान्त क्षेत्रमा अमेरिकी दृष्टि राख्दा हामी भारतलाई भुल्न सक्दैनौं । सबै दृष्टिले भारत यो क्षेत्रको मुख्य खेलाडी हो ।’ उनले भारतसँग अमेरिकी सम्बन्ध ‘विन–विन’ रहेको बताए ।

इन्डो–प्यासिफिक रणनीति अमेरिकाले सहकार्यका लागि तय गरेको उनले बताए । उनले भने, ‘सबैले आफ्नो मुलुकको स्वार्थ, आर्थिक विकास र सहकार्यका लागि सम्बन्ध अघि बढाउने हो । यो हरेक मुलुकसँग रहन्छ ।’

सरकारी अधिकारी र थिंक ट्यांकसँगको छलफलपछि मंगलबार दैनिक पत्रिकाका केही पत्रकारसँग छलफल गर्दै उनले भने, ‘नेपालसँगको हाम्रो सहकार्य कसैलाई काउन्टर दिन होइन र कुनै अन्य मुलुकप्रति लक्षित पनि छैन ।’ नेपाल अमेरिकाको प्राथमिकतामा रहँदै आएको उनले बताए ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार ०८:०८