भाडा नमाग्न, वृद्धि नगर्न र निष्कासित नगर्न घरधनीलाई सरोकार समितिको अपिल

काठमाडौं : नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडा नमाग्न, वृद्धि नगर्न र निष्कासित नगर्न घरधनीलाई अपिल गरेको छ। समितिले विज्ञप्ति जारी गर्दै वर्तमान असहज परिस्थितिमा घरभाडा नमाग्न घरधनीहरूलाई अपिल गरेको हो।

समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को पीडामा परी छटपटाइरहेका आम व्यवसायीलाई यो विकराल परिस्थिति रहेसम्म घरभाडा भुक्तानीको निम्ति दबाब नदिन, भाडा वृद्धि नगर्न र घर कोठाबाट निष्कासित नगर्न अनुरोध गर्दछौं।’

कोभिड–१९ का कारण लकडाउन सुरु भएलगत्तै तत्कालीन समयमा वर्तमान विकराल परिस्थितिको आँकलन गर्दै बैंक तथा वित्तीय संस्थाको किस्ता पुनर्तालिकीकरण गर्न, ब्याज छुट दिन तथा घरभाडा छुट दिने वातावरण बनाउन माग गर्दै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको घरभाडा सरोकार समितिले जनाएको छ।

बिज्ञप्तिमा भनीएको छ, ‘तर हामीले सोचेभन्दा पनि अवस्था जटिल बन्दै गयो, त्यसैले हामी जन्ती जाँदाको मात्र होइन, मलामी जाँदाको पनि साथी’ बन्ने प्रयास गर्दै यो आग्रह गर्दछौं।’


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार ११:५२