विदेशबाट फर्कन चाहने नेपालीका लागि उडान तालिका र भाडादर तय, कहाँ कहिले उडान ?

काठमाडौं: सरकारले आगामी ३२ जेठ आइतबारदेखि ११ असारसम्म विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । । नेपाली र विदेशी एयरलायन्सले गरेर ६७ वटा उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने निर्णय भएको हो ।

पर्यटन मन्त्रालयले दुई एयरलायन्स कम्पनीका कुल दैनिक १० वटा उडानबाट नबढ्ने गरी तालिका बनाएको छ । १० उडानबाट दुुई एयरलायन्सले दैनिक एक हजार आठ सयजनाको उद्धार गर्नेछन् । मन्त्रालयले उडानको भाडासमेत तय गरेर मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा पठाएको छ । उद्धारको क्रममा नेपाली एयरलायन्सले ४३ उडान गर्नेछन् भने विदेशका एयरलायन्सले २४ उडान गर्नेछन् । ४३ मध्ये नेपाल वायुसेवा निगमले २४ र हिमायल एयरलायन्सले १९ वटा उडानबाट उद्धार गर्नेछन् ।

विदेशबाट फर्कन चाहने नेपालीका लागि उडान तालिकासँगै भाडादर समेत तय गरेको छ । सरकारले ओमन ५१० डलर, साउदी अरब दमाम ५९० डलर, साउदी अरब रियाद ६३० डलर, बैंकक, थाइल्यान्ड ३९० डलर, ढाका, बंगलादेश १६५ डलर, मलेसिया ५२० डलर, दोहा, कतार ५४५ डलर, युएई ५०० डलर, कुवेत ५७० डलर, कम्बोडिया ४०० डलर, बहराइन ५४५ डलर, साउदी अरब जेदाह ७७० डलर, सुडान ९४० डलर, माले, माल्दिभ्स ५०५ डलर, हङकङ डलर ५५०, दिल्ली २०५ डलर, मुम्बई ३१० डलर, बेंग्लोर ३३५ डलर, ओमन ८१५ डलर, साइप्रस ८७५ डलर, नारिता, जापान ९३५ डलर, हिथ्रो (युके) १३५० डलर, फ्र्यांकफर्ट (जर्मनी) १२५५
डलर कायम गरिएको छ ।

नेपाल वायुसेवा निगमको जहाज वाइडबडीले ३२ गते बंगलादेशमा पहिलो उडान गरी नेपाली ल्याउनेछ । असार १ गते मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट एक–एक उडान चार्टर गरेर ल्याइनेछ ।

त्यस्तै असार २ गते युएई, कतार, कुवेत र श्रीलंकाबाट एक–एक उडानमार्फत चार्टर गरेर नेपाल ल्याइनेछ । असार ३ गते अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिकाबाट एक–एक उडान गरेर नेपाली ल्याइनेछ ।

असार ४ गते साउदी अरब, युएई, मलेसिया र ओमनबाट एक–एक चार्टर उडान हुनेछ । त्यस्तै, असार ५ गते जापान, कुवेत, साउदी अरब र नाइजेरियाबाट दुई–दुई उडान हुनेछ । असार ६ गते साइप्रस, मलेसिया, कतार, युएई, बंगलादेश र युरोपबाट एक–एक चार्टर उडान गरेर नेपाली ल्याइनेछ । असार ७ गते दक्षिण कोरिया, ओमन, कुवेत, मलेसियाबाट दुई–दुई चार्टर उडान हुनेछ ।

असार ८ गते अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतारबाट एक–एक चार्टर उडान गरेर नेपाल ल्याइनेछ । असार ९ गते जापान, माल्दिभ्स, युएई र युगान्डाबाट दुई–दुई चार्टर उडान हुनेछ । असार १० गते साउदी, कुवेतबाट दुई–दुई उडान हुनेछ । त्यसैगरी असार ११ गते अमेरिका र साइप्रसबाट एक–एक उडान हुनेछ ।

आज कुवेतमा आममाफीमा सहभागी तीन सय नेपालीलाई लिएर कुवेतबाट दुईवटा जहाज आउने निश्चित भइसकेको छ । उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा पठाउन लागेको हो ।


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार ०८:२२