पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित एकता गरेरै छाड्यौं : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले नेपाली जनतासँग गरेको बाचाअनुसार पार्टी एकता गरेरै छाडेको बताउनुभएको छ । नेपाली जनतासँग गरेको बाचाअनुसार आफूहरु अगाडि बढेको बताउँदै अध्यक्ष प्रचण्डले जनचाहाना भन्दा अलीकती पनि विचलीत नहुने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७०औं वार्षिक उत्सवका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले भन्नुभयो, हामीले नेपाली जनतासँग गरेको बाचाअनुसार बिलकुल विचलित नभई हामी अघि बढ्यौं र पार्टी एकता गरेरै छाड्यौं।’

प्रचण्डले पार्टी एकता नभए सम्पूर्ण उपलब्धि खतरामा पर्न सक्छन् भन्ने संकल्पसहित आफूहरू जिम्मेवार भएर अगाडि बढेको स्मरण समेत गर्नुभयो । पार्टी एकताले प्रतिक्रियावादीलाई ठूलो झड्का लागेको बताउँदै आम सर्वहारा वर्ग भने पार्टी एकतापछि खुसी र उत्साही भएको समेत बताउनुभयो ।

प्रचण्डले पार्टी एकताको अन्तिम फलामे ढोका फोरीएको चर्चा गर्दै भन्नुभयो, ‘अन्तिम फलामे ढोका हामीले फोरिदिएका छौं, यो फलामे ढोकाजस्तै थियो । किनकी गाँठो हाम्रो त्यहीँनिर परेको थियो, मुख्य गाँठो फुकेपछि अरु गाँठो सजिलै फुक्नेछ । केही ढिलो भएकोमा क्षमा माग्दै हामीले मिसन कम्प्लिट गरेका छौं,’ प्रचण्डले भन्नुभयो । पार्टी एकता टुंग्याउन विभिन्न कार्यदल बनाए पनि गाँठो झन् कस्सिदै गएको भन्दै पछि पुरानै ठाउँमा फर्किएर एकता प्रक्रिया पूरा गरेको प्रचण्डको भनाई थियो ।


प्रकाशित | ९ बैशाख २०७६, सोमबार १६:४९