बाँकेका २९ संक्रमितले जिते कोरोना, हालसम्म बाँकेबाट ९७ संक्रमित निको भएर घर फर्के

काठमाडौं: कोरोना उपचारपछि बाँकेका २९ जना व्यक्तिहरु आज डिस्चार्ज भएका छन्। कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले हालसम्म बाँकेबाट ९७ संक्रमित निको भएर घर गएको जानकारी गराउनुभयो । बाँकेमा २७९ जनामा कोरोना संक्रमण देखिएको छ। नरैनापुर गाउँपालिकामा मात्र ११८ जनामा संक्रमण देखिएको थियो। जसमध्ये ६० जना निको भइसकेका छन्।

झापाका २८ संक्रमितले जिते कोरोना

झापाका कोरोना संक्रमितमध्ये २८ जना निको भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निको भएर घर फर्किएका हुन् ।

स्वास्थ्य प्रोटोकलअनुसार दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाइएको प्रतिष्ठानका प्रवक्ता प्रा. डा. दिनेश सापकोटाले जानकारी दिनुभयो ।

२ साताअघि उनीहरू भारतबाट फर्किएका थिए । अब प्रतिष्ठानको आइसोलेसनमा ५५ जना उपचाररत रहेका डा। सापकोटाले बताउनुभयो । प्रतिष्ठानको आइसोलेसनबाट अहिलेसम्म ९९ जना निको भएर फर्किइसकेका छन् ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १३:१५