एनआरएनए यूकेको कोरोना कोषमा तमुधिं यूकेको १४ सय १ पाउण्ड सहयोग

लण्डन : तमुधिं यूकेले एनआरएनए यूकेको कोरोना राहत कोषमा आर्थिक सहयोग गरेको छ । बेलायतमा कोरोनाबाट प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए यूकेले सञ्चालन गरेको सहयोग अभियानमा तमुधिं यूकेले १४ सय १ पाउण्ड प्रदान गरेको हो ।

सहयोग वापतको चेक शनिबार तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङलाई हस्तान्तरण गर्नुभयो। मिचेटस्थित तमुधिं भवनमा एनआरएनए यूके र तमुधिं यूकेका पदाधिकारीहरुको उपस्थितिमा चेक हस्तान्तरण भएको थियो ।

चेक ग्रहण गर्दै एनआरएनए यूकेकी अध्यक्ष गुरुङले सहयोगका लागि तमुधिं यूकेप्रति आभार प्रकट गर्नुभयो । तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले पनि एनआरएनए यूकेको सहयोग अफ्ठेरोमै परेका वास्तविक पीडितहरुसम्म पुगोस् भन्ने आफूहरुको चाहना रहेको बताउनुभयो ।

सो अवसरमा एनआरएनए यूकेका उपाध्यक्ष सुनिलबाबु खड्का, कोषाध्यक्ष तेजेन्द्र रोका र कार्यसमिति सदस्यद्धय हेम गुरुङ र धन सार्कीका साथै तमुधिं यूकेका तर्फबाट वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ र उपाध्यक्ष जुमकाजी गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष रामचन्द्र सुर्जे गुरुङ लगायतको उपस्थिति थियो ।


प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार ०८:२५