कामदार फिर्ता पठाउन स्पष्ट खाका माग

काठमाडौँ : वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ । सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउन सुरु गरेको अवस्थामा आफूहरूले पनि तयारी गर्नुपर्ने भन्दै उक्त आग्रह गर्नुभएको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा सरकारले चार्टर्ड उडानमार्फत ल्याउन सुरु गरेको छ । राजदूतहरूले कहिलेदेखि र कति सङ्ख्यामा फर्काउनेबारे स्पष्ट आधार वा खाका कम्तीमा एक हप्ता अगाडि दूतावासलाई उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ ।

श्रम, रोजगार पत्रकार समूहले आयोजना गरेको भर्चुअल छलफलमा सहभागी साउदी अबरका लागि नेपालका राजदूत डा। महेन्द्रप्रसाद सिंह राजपुत, मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डे र कतारका लागि नेपालका राजदूत नारद भारद्वाजले सरकारसँग यस्तो आग्रह गर्नुभएको हो ।

कहिलेसम्म फर्काउने रु उडान खर्च कति लाग्ने रु कोभिड–१९ को परीक्षण कहाँ र कुन परीक्षण गर्नुपर्ने हो तत्काल स्पष्ट जानकारी उपलब्ध गराउन पनि उहाँहरूले माग गर्नुभयो ।

राजदूत राजपुतले साउदी दूतावासमा हालसम्म १० हजार व्यक्तिले स्वदेश जानका लागि आवेदन दिइसकेको र अहिले पनि दैनिक एक÷डेढ सय व्यक्तिले निवेदन दिइरहेको जानकारी दिनुभयो ।

राजदूत पाण्डेले चार्टर्ड उडान महँगो पर्ने हुनाले निश्चित समय तोकेर नियमित उडान खुलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले धेरै कम्पनीले श्रमिकलाई घर फर्किने टिकट यसअघि नै दिइसकेको र टिकट फिर्ता गरेर रकम लिन सम्भव नहुने हुँदा नियमित उडाउन खुलेको खण्डमा धेरै सहज हुने बताउनुभयो ।

राजदूत भारद्वाजले कतारमा कोरोना परीक्षण सरकारी अस्पतालको पनि छ÷सातवटा प्रयोगशालाबाट मात्रै भएकाले त्यसको परीक्षण गर्न हाम्रो पहुँच नपुग्ने बताउनुभयो । यसको परीक्षणको विषयमा कतार सरकारसँग हामीले गरेको आग्रहमा नेपाल जाने नागरिकको आरडीटी र पीसीआर परीक्षण सम्भव नभएको जवाफ पठाएको पनि उहाँले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनीकमा छ ।


प्रकाशित | २५ जेष्ठ २०७७, आईतवार ०७:४४