शनिबार ३२३ जना थपिए संक्रमित, कुल संख्या ३२३५ पुग्यो, थप दुईजनाको मृत्यु

काठमाडौं: नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा थप २ जनाको मृत्यु भएको पुष्टि गर्नुभयो । देवकोटाका अनुसार मृत्यु हुने १ पुरुष र १ महिला रहेका छन् । सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका ५८ वर्षीय व्यक्तिको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको उहाँले बताउनुभयो ।

त्यस्तै, धनगढीको सेती प्रदेशिक अस्पतालमा पनि ५५ वर्षीया महिलाको पनि कोरोना कारण मृत्यु भएको उहाँले बताउनुभयो । देवकोटाका अनुसार ती महिला मिर्गौलाको बिरामी भएको र सेतीमा डाइलासिस गर्ने क्रममा मृत्यु भएको हो । उनको सेती अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ नतिजा आएको हो ।


प्रकाशित | २४ जेष्ठ २०७७, शनिबार १६:३८