विज्ञ सम्मेलनको विषयमा अमेरिकाज् क्षेत्रस्तरीय छलफल, विज्ञहरुले दिए यस्तो सुझाव

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि स्वदेशमा भित्र्याउने उद्देश्यले शूरु गरेको विज्ञ सम्मेलन कोभिड १९ महामारीको कारण रोकिएपछि अब के गर्ने र कसरी गर्ने भन्ने विषयमा छलफल प्रारम्भ गरिएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रले यसअघि क्यानडामा गर्ने गरि मिती तय गरिसकेको वर्तमान अवस्थामा कोभिड १९ को कारण गर्न नसक्ने भएपछि क्षेत्रीयस्तरमा विज्ञ सम्मिलीत छलफलको प्रारम्भ गरिएको हो ।

क्षेत्रीय संयोजक राजन त्रिपाठीले विज्ञ सम्मेलन पूर्वनिर्धारित मितीमा गर्न नसक्ने भएपछि अब के गर्ने र कसरी गर्ने भन्ने विषयमा एनआरएनएका सबै तहका नेतृत्वसहित विज्ञ सम्मिलीत छलफल आयोजना गरिएको जानकारी गराउनुभयो ।

संयोजक त्रिपाठीका अनुसार छलफलमा सहभागि विज्ञहरुले महामारी कसरी जान्छ भन्ने टुंगो लागि नसकेकाले परिस्थिती हेरेर विज्ञ सम्मेलन आयोजना गर्न सकिने सुझाउनुभएको छ ।

छलफलको क्रममा विज्ञहरुले यो वर्षको विज्ञ सम्मेलन कोभिड १९ पूरै नियन्त्रणमा आएपनि भिडियो कन्फेरेन्समार्फत गर्न सकिने सुझाव दिनुभएको संयोजक त्रिपाठीले जानकारी गराउनुभयो । संयोजक त्रिपाठीले भन्नुभयो, ‘विज्ञहरुले महामारीको अवस्था हेरेर अगस्ष्टको अन्तमा वा सेप्टेम्बरको पहिलो साताभित्र गर्न सकिने पनि सुझाउनुभयो । ‘

साथै यसअघि नेपाल सरकारलाई बुझाइएको श्वेतपत्र के कती कार्यान्वयनमा आयो भन्ने विषयमा पनि जानकारी लिनुपर्नेमा विज्ञहरुले चासो देखाउनुभएको छ ।

विज्ञहरु डा.यादव पण्डित, डा. हरि दाहाल, डा. रुद्र अर्याल, डा. राजन पन्त, ई सन्तोष त्रिपाठी, डा ज्ञानेन्द्र बोहोरा, डा टोयो दाहाल र शिव राईलगायले विज्ञ सम्मेलन आयोजना गर्नुको मुख्य उद्देश्य विदेशमा रहेका नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि स्वदेश भित्र्याउनु भएको बताउँदै यसअघि एनआरएनएको पहिलो विज्ञ सम्मेलनले नेपाल सरकारलाई बुझाएको श्वेतपत्र के कती कार्यान्वयन भए र आगामी दिनमा मुलुकले विदेशबाट के कस्तो प्रविधि सिक्न चाहेको छ भन्ने विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ ।

छलफल कार्यक्रममा एनआरएनए आइसिसी सल्लाहकार हरिबोल भण्डारी, आइसिसी महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, अमेरिकाज् क्षेत्रीय महिला संयोजक उमा थापा, अमेरिकाज् युवा संयोजक विमला सापकोटा, आइसिसी सदस्यहरु त्रिस्ना काफ्ले शर्मा, जेडु पोखरेल, शंकर खडका, शिव पौडेल, तुलसी सापकोटा, होमनाथ गौतम, गोपी काफ्ले, यमुना भट्टराई, पुरुषोतम बोहरा र अमेरिका तथा क्यानडा एनसिसीका पदाधिकारीको सहभागिता थियो ।

क्षेत्रीय समितिले औचारिक रुपमा आयोजना गरेको सो कार्यक्रममा विमला सापकोटाले स्वागत र उमा कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

संयोजक त्रिपाठीले विज्ञहरुले दिनुभएको सल्लाह सुझावलाई आत्मसाथ गर्दै आगामी कार्यक्रम आइसिसीसँगको समन्वयमा तय गर्ने पनि जानकारी गराउनुभयो ।


प्रकाशित | २४ जेष्ठ २०७७, शनिबार ११:०२