नेपालमा रोकिएका हङकङबासी नेपाली फर्किदै, सोमबार निगमको तीन चार्टर उडान

काठमाडौं: लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपाली सोमबार रातीबाट हङकङ फर्किदैं छन् । सोमबार नेपालबाट नेपाल एयरलाइन्सको तीन चार्टर विमानमार्फत उनीहरु फर्किन लागेका हुन् ।

लकडाउन लम्बिएसँगै अन्तर्राष्ट्रिय उडानको समेत मिति सरिरहेको छ । त्यहि भएर अहिले हङकङबासी नेपालीहरुले जहाज चार्टर गरेर फर्किन लागेका हुन् । सोमबार नेपाल वायुसेवा निगमको १ वटा वाइडबडी र २ वटा न्यारोबडी जहाज मार्फत चार्टर उडान हुदैछ ।

निगमका अनुसार सोमबार एकैपटक तीन वटा जहाज माफर्त हङकङमा उडान गर्न लागेका हुन । यस्तै अबको ४ दिनपछि न्यारोबडी जहाजमार्फत बाँकिको चार्टर उडान हुनेछ ।

सोमबार जाने दुई वटा न्यारोबडी हार्वेस्ट मुन ट्राभलले बुकिङ गरेको हो भने वाइडबडी जहाज हङकङका ८ वटा ट्राभल एजेन्सीहरु मिलेरले बुकिङ गरेका हुन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका अध्यक्ष टिका गुरुङले हङकङस्थित नेपाली महावाणिज्यदूतावाससँगको करिब १ महिना देखिको पहलपछि नेपालमा रोकिएकाहरु फर्किन पाएको बताउनुभयो ।

नेपालबाट गएकाहरु १४ दिन क्वारेन्टाइनमा बस्ने छन् । अहिले नेपालमा करिब १ हजार ३ सय जना नेपालीमूलका हङकङबासीहरु लकडाउनका कारण रोकिएका छन । एकमहिनाअघिदेखि फर्किन चाहनेहरुलाई गैरआवासिय नेपाली संघ हङकङले नामावली संकलन गरेको थियो ।

यसअघि हङकङ चार्टर उडानका लागि हिमालय एयरलाइन्सले प्रक्रिया थालेको थियो । हिमालय एयरलाइन्स जाने निश्चित भएपछि हङकङमा रहेका ट्राभल एजेन्सीहरुले नेपाल एयरलाइन्सलाई महँगोमा बुक गरेका थिए । हङकङले हिमालयलाई उडान अनुमति नदिएपछि नेपाल एयरलाइन्स नै बुक गरेर नेपालीहरु फर्किन लागेका हुन् ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार २०:२८